प्रधानमन्त्री सम्बोधनः ९ सुझाव र ६ वाध्यता

Avatar photo
Dhadingpost
चैत्र ७, २०७६

काठमाडौं चैत्र ७ । प्रधानमन्त्री केपी शर्मा ओलिले देसबासीका नाममा शुक्रबार साँझ सम्बोधन गरेका छन् ।

कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको अवस्थामा देशबासीलाई सम्बोधन गर्दै ९ सुझाव र ६ बाध्यकारी अवस्थाका विषयमा सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा प्रधान मन्त्री ओलीले कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने संयुक्त कोषमा नेपालले पनि १० करोड रुपियाँ योगदान गर्ने बताएका थिए ।

यस्ता छन् प्रधानमन्त्रीको देशबासीलाई ९ सुझाव
१. सरसफाईमा उचित ध्यान दिनुहोस्
२. साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।
३. भीडभाडबाट टाढै रहनु होस्,
४. सकेसम्म घरमै बस्नुहोस्,
५. अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,
६. हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्,
७. चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्,
८. धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र
९. सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।

यस्ता छन् प्रधानमन्त्रीको देशबासीलाई ६ वाध्यकारी अवस्था
१. नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
२. सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।
३. देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
४. आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।
५. मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
६. विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

x