
काठमाडौं चैत्र ४ । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई व्यवास्था गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ ।
दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ ।
कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन । त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए ।
कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो। परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ। यूएई, साउदी अरेबिया, ओमान, बहराइन र कुवेतले पनि घरबाट बाहिर ननिस्कन स्वदेशी एवम् विदेशी सबैलाई आग्रह गरिसकेका छन्। नेपाल सरकारले यसबारे सूचना प्रवाह गर्न दूतावासलाई पत्राचार गरेको थियो ।
सबैजसो खाडी मुलुकमा कार्यरत कामदारलाई जोखिम क्षेत्रमा नजान भन्दै क्वारेन्टाइनमा राखिएको छ । कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्रभित्रै क्वारेन्टाइन बनाएर राखिएको परराष्ट्र अधिकारीले बताएका छन् । उनीहरू क्वारेन्टाइनबाटै काममा आउने–जाने गर्छन् । आजको अन्नपूर्णपोष्टमा खवर प्रकाशित छ ।

