
काठमाडौं, चैत्र ४ । नेपाली सेनाले कोरोना भाइरसको सङ्क्रमण रोक्नको लागि भद्रकाली स्थित सैनिक मुख्यालय प्रवेशमा ‘एकद्वार’ रणनीति अपनाएको छ ।
सैनिक मुख्यालयमा कार्यरत उच्च सैनिक अधिकृतदेखि जवानसम्मले कार्यालय प्रवेश गर्नुअघि र बाहिर निस्कँदा ‘थर्मप्लान्ट’बाट स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।
उच्च ज्वरो आएमा वा शङ्का लागेका सैनिक कर्मचारीलाई तत्काल ‘आइसोलेसन’का लागि सैनिक मुख्यालयको दक्षिणतर्फको गेटमा निर्माण गरिएका अस्थायी टेन्टमा राख्ने व्यवस्था गरिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कार्यालय प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण र हातमा सेनिटाइजर लगाएर प्रवेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको जानकारी दिए।
मुलुकभर रहेका सैनिक कार्यालय तथा युनिटमा कार्यरत सैनिक कर्मचारीलाई व्यक्तिगत तथा कार्यालय सरसफाइ, स्वास्थ्य सतर्कता, कोरोनाको सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य तथा सरसफाइ सतर्कता सम्बन्धी जानकारी दिएको सेनाले जनाएको छ ।
यसको तयारीका लागि १४ युनिटबाट ५२ जना स्वास्थ्यकर्मीको टोलीलाई सैनिक मुख्यालयमा निम्त्याइएको छ । सैनिक प्रवक्ता पाण्डेले छाउनी अस्पतालमा १० बेड आइसोलेसन सेवा विस्तार गरिएको बताए ।
कोरोना भाइरस सङ्क्रमित बिरामीलाई उपचारका लागि सम्बन्धित अस्पतालबाट शहीद शुक्रराज ट्रपिकल अस्पताल टेकु पु¥याउन विशेष प्रकारको एम्बुलेन्स व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीका अनुसार सो एम्बुलेन्समा चालक सुरक्षित हुने उपकरण जडान गरिएको छ । आजको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।

