आठ मार्च र वर्तामान सन्दर्भ

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०७६

पृष्ठभूमीः
पूँजीवादको उदयपछि महिलाहरु घरभित्रको दासी, अर्धदासीको चौघेराबाट बाहिर निस्किएर सामाजिक र आर्थिक क्षेत्रमा पुरुष सरह उद्योग, कारखानामा मजदुरको रुपमा काम गर्न सुरु गरेका थिए ।

पूँजीवादले अधिकार र स्वतन्त्रताको नारा दिएर घरभित्रबाट कलकारखाना सम्म त ल्याइदियो । तर पूँजीवाद पनि सामान्तवादकै गर्भबाट जन्मिएको हुनाले पूँजीवादी उत्पादन सम्बन्ध र विवरण प्रणालीका कारण उद्योग, कलकारखानमा काम गर्ने मजदुरहरुलाई शोषणका नयाँ रुपहरु खडा गरी दियो ।

कलकारखाना भित्र काम गर्ने महिला मजदुरहरुलाई समान कामको असमान ज्याला, मातृशिशुको असुरक्षा, ट्रेड युनियनको अधिकारबाट वञ्चित, १६ घण्टा काम गर्नुपर्ने बाध्यता जसले गर्दा महिलाहरुलाई घरभित्र र बाहिरको झन दोहोरो शोषणको जन्जिरले बाँधिदियो ।

रुपमा समानता र अधिकारको नाराभित्र सारमा मिहिन शोषणको तरिकाले पूँजीवाद प्रति घृणा र आक्रोस पैदा गर्नुको साथसाथै स्वतन्त्रताको नयाँ जागरणहरु पैदा हुन पुग्यो । न्याय र समानताको लागि पूँजीवादको विरुद्ध महिलाहरु स-साना क्लब देखि ठूलाठूला उद्योगहरुसम्म सङ्गठित र आन्दोलित हुँदै गए ।

१८ औं शताब्दीको अन्ततिर सर्वहारा मजदुर आन्दोलन समाजवादतिर अगाडि बढ्दै गर्दा त्यसमा पनि मूख्यतः सन् १८७२ को पेरिस कम्युनमा समाजवादी महिला श्रमिकहरुको जुझारुपनले महिला अधिकारको लागि आन्दोलन अगाडि बढाउन महत्वपूर्ण र थप प्रेरणा मिल्यो । सन १८९७ मार्च ८ का दिन अमेरिकाको न्युयोर्क शहरको कपडा मिलका महिला मजदुरहरुले ८ घण्टा काम समान कामको समान ज्याला, ट्रेड युनियनको अधिकार, मातृशिषुको सुरक्षा र मताधिकार को अधिकार लगायतका मागहरु राखी र्या,ली र सभापछि आम हडताल गरेका थिए ।

विश्व ईतिहासमा महिलाहरुले गरेको यो विद्रोह पहिलो र संगठित थियो । यो विद्रोहलाई दबाउन पूँजीवादी शासकहरुले ठुलो तागत खर्चिए तर त्यसको विरुद्ध महिलाहरु निरन्तर संघर्षमा होमिईरहेकै थिए । मागहरु भने पूरा हुन सकिरहेको थिएन ।

कल्पना धमला

समाजवादी महिला नेतृ क्लारा जेट्किनले श्रमिक महिला आन्दोलनलाई समाजवादी आन्दोलनलाई गाँसेर मात्र पूँजीवादी शासकहरुलाई झुकाउन र परिणाम हाँसिल गर्न सकिन्छ भन्दै आम सर्वहारा वर्गको श्रमिक आन्दोलनमा रुपान्तरण गरी दिईन् ।

सन १९०७ मार्च ८ मा अन्तर्राष्ट्रिय समाजवादी महिलाहरुको पहिलो सम्मेलन जर्मनको स्टुगार्डमा क्लाराजेट्किनको नेतृत्वमा सम्पन्न भयो । उक्त सम्मेलनमा १५ देशका ५६ जना प्रतिनिधिहरुले भाग लिएका थिए । उक्त सम्मेलनले सबै क्षेत्रमा समान अधिकारको प्रस्ताव पारित गरेको थियो ।

पूँजीवादले महिला माथि गरेको शोषण र उत्पिडन विरुद्ध आन्दोलनलाई सशक्त बनाउने उद्देश्य सहित १९०८ देखि तिव्र गतिमा अगाडि बढेको आन्दोलन १९०९ मार्च ८ को दिन उत्कर्षमा पुग्यो । जसका कारण पूँजीवादी शासक महिलाहरुको शक्ति र सशक्त आन्दोलन सामु घुँडा टेक्दै ८ घण्टा काम, समान कामको समान ज्याला, उद्योग/कलकारखाना भित्र शिशु स्याहारको व्यवस्था लगायत सीमित अधिकारको घोषणा गर्न बाध्य भए ।

अधिकार प्राप्तीको लागि संगठित संघर्षको सुरुवात गरेको संघर्षको वलमा सीमित भएपनि अधिकार प्राप्त गरेको दिन ८ मार्च नै भएको हुनाले उक्त दिनको महत्व र गौरवलाई स्मरण गर्दै र ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउनका लागि सन् १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा भएको दोस्रो महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलनले निर्णय गर्यो । यसर्थ सन १९११ देखि विश्वभरका महिलाहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश को रुपमा मनाउदै आएका छन् ।

८ मार्चलाई कसरी ग्रहण गर्ने ? र बुझ्ने ?
न्याय र समानताको लागि संसारभरका महिलाहरुले ८ मार्चलाई गौरवपूर्ण इतिहास र उत्सवको रुपमा स्मरण गर्दै आईरहेकै छन् । १८ औँ शताब्दी र २१ औं शताब्दीलाई तुलना गर्दा
१) ८ मार्चलाई संसार भरीका महिलाहरुले कसरी बुझेका र ग्रहण गरेका छन् ।
२) ८ मार्चको ऐतिहासिक उद्देश्य, मूल्यमान्यता र औचित्य बारेको मूल्यांकन कस्तो छ ?
३) आजको विश्वमा ८ मार्चको महत्व र आवश्यकता कति छ ?
४) विचारधारात्मक हिसाबले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा कति भिन्नता रहेको छ ?
५) बाध्यात्मक रुपमा ८ मार्च मनाउने परम्पराले यसको सार्थकता पुष्टि गर्न सक्छ ? कि सक्दैन ? धरातलीय यथार्थमा उभिएका प्रश्नचहरु छन्

विश्वीमान चित्रमा महिलाको अवस्था कतिपय तेस्रो मुलुकका अविकसित राष्ट्रहरु, ठाउँ, जाति विशेष, परम्परा र संस्कारलाई हेर्ने हो भने १८ औँ शताब्दी कै अवस्था भन्दा माथि उठ्न नसकेको पनि देख्न र भन्न सकिन्छ ।

परम्परा र संस्कारका रुपमा सामन्तबादले गरेको शोषण आधुनिक रुपमा पूँजीवादले गरेको शोषणका रुपमा पूरक भएपनि सारमा उस्तै नै हो । आधुनिकताको नाममा कलकारखाना, उद्योगधन्दा, घरायसी कामको लागि विभिन्न मुलुकमा गर्ने आवत जावत, श्रमशोषण, मानसिक शोषण, हत्या, वलत्कार, घृणा, तिरस्कार चरम रुपमा बढेको देखिन्छ ।

सामान्तवादको गर्भबाट नै पूँजीवादको जन्म भएकोले सामान्ती सोच, चिन्तन, उत्पादन सम्बन्ध र वितरण प्रणाली तात्विक अन्तर रहन सकेन । सामान्तवाद भन्दा पूँजीवाद केही प्रगतिशील व्यवस्था मात्र हो । यसले उत्पादन त बढायो । महिलाहरुलाई घरको चुलो चौकोबाट बाहिर उद्योग कलकारखाना मात्रै नभएर बौद्धिक फाँट राज्यका अंगहरुमा समेत पुर्याायो तर वितरण प्रणालीमा रहेको गम्भिर त्रुटीका कारण उत्पिडनको अन्त्यको अलवा नयाँ नयाँ रुपहरु उजागर गरी दियो ।

समान्तवाद र पूँजीवादले महिलामाथि थोपरेको उत्पिडनका आधारहरु भत्काउन र उत्पिडनबाट मुक्त गर्न राष्ट्रिय/ अन्तराष्ट्रिय रुपमा नै सही विचारात्मक वहस जरुरी देखिन्छ । ८ मार्चको ऐतिहासिकतालाई अझै दह्रोसँग आत्मसाथ गर्दै न्याय र समानताको लागि सिंगो राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक उत्पिडनबाट मुक्त गर्न सक्ने वर्गीय दृष्टिकोण सहितको अन्तर्राष्ट्रिय मुक्तिवादको झण्डा उठाउन आवश्यक छ ।

विशुद्ध नारीवादी दृष्टिकोणबाट परम्परा धान्नकै लगि ८ मार्चको लक्ष, उद्देश्य, महत्व र ऐतिहासिकतालाई पन्छाएर नारी दिवसको हवालामा रमाउनु कुनै औचित्य रहँदैन । संघर्ष र अधिकारको ऐतिहासिकता र युगिन आवश्यकतालाई आत्मसाथ गर्दै ८ मार्चले निर्दिष्ट गरेको लक्ष्य “न्याय र समानता ” स्थापित गर्न संसारभर सही बुझाई र साझा कार्यत्रम आवश्यक हुन्छ । केही विशुद्ध नारीवादीहरुको भिडले तय गर्ने अन्तर्राष्ट्रिय नाराले मात्र ८ मार्चको औचित्य र सार्थकता पुष्टी गर्न सम्भव छैन ।

वर्तमान अवस्था र ८ मार्चः
नेपालको सन्दर्भमा ८ मार्चको ऐतिहासिक कडी १४ औँ शताब्दीको सामाजवादी आन्दोलनसँग जोडिदै आयो । न्याय र समानताको लागि विभिन्न समयमा सञ्चालित शान्तिपूर्ण जनआन्दोलन देखि वलिदानीपूर्ण जनयुद्धको भट्टीमा समेत होमिएर २५ सय भन्दा बढी महिला र हजारौंको बलिदानले लाखौँ नेता कार्यकर्ता र जनताको त्याग, समर्पणबाट सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ ।

महिलाको हकमा राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशी सहभागिता, लैंगिंक विभेद विना समान वंशीय हक, प्रजनन सम्बन्धी हक, महिला विरुद्ध धार्मिक, सामाजिक, साँस्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न पाईदैन ।

यस्तो कार्य कानुन बमोजिम दण्डनीय र पिडितलाई उचित क्षतिपूर्ति पाउने हक हुनेछ । प्रत्येक महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र समाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त हुनेछ भन्ने उल्लेख गरिएको छ । संविधानले नै यति धेरै हकहरुको निर्देशन गर्दा गर्दै पनि लैंगिक उत्पिडन र हिंसा घटेको महशुस हुन नसकेको मात्रै होईन सत्य कुरा सामाजिक सुरक्षा कमजोर नै बनेको देखिन्छ ।

यसो हुनुमा अझै पनि महिलाहरुको घरेलु श्रमलाई राष्ट्रको कुल ग्राहस्थ उत्पादन (GDP) मा जोड्ने कुरा र समान वंशीय हकलाई राज्यले स्वीकार गर्न नसक्नु नै हिंसा, असुरक्षा र असमानताको कारक बन्न पुगेको छ । जुन बेला अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु भयो । उनीहरुले गरेको आन्दोलनले महिलाको जीवनमा उल्लेख्य परिवर्तन भएकै छ र पनि संसारभर हेर्दा दोस्रो दर्जाको हद भने पूर्ण रुपमा हट्न सकेको देखिदैन ।

सामन्तवादले घरभित्रको दासीको रुपमा शोषण गरेको थियो भने पूँजीवादले न्याय, समानता र स्वतन्त्रताको चारो हालेर फरक रुपमा शोषण गरिरहेको छ । लामो संघर्षपछि प्राप्त उपलब्धीहरु कार्यान्वयन नहुँदा सदियौँ देखि उत्पिडन भोग्दै आएकाहरु निकै चिन्तित र गम्भिर छन् ।

सचेत र संयमतापूर्वक विचारधारात्मक र संगठनात्मक संघर्षको माध्यमबाट प्राप्त उपलब्धी कार्यान्वयनमा जोड गनुपर्ने नेपाली महिलाहरुको पहिलो दायित्व हुन आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको यो चरणमा अग्रगमन र पश्चगमन बीचको छिना झपटी पनि प्राप्त हक कार्यान्वयनमा बाधक बनेकोले अग्रगमनको संघर्षलाई सशक्त बनाउन उत्तिकै आवश्यक छ ।

उत्पिडनमा परेकाहरुले नै सचेत पहल लिन सक्छ भन्ने कुरा हरेक आन्दोलनमा महिलाहरुले पुष्टि गर्दै आईरहेका नै छन् । यसर्थ आजसम्म आउदा नेपाली महिलाहरुले ८ मार्चको उद्देश्य प्रति आफ्नो यात्रा निरन्तर बढाईरहेको कुरा प्रष्ट नै छ ।

निष्कर्षः
संसार भरीका महिलाहरुको संघर्ष र अधिकार प्राप्तीरको विरगाथा बोकेको यो ऐतिहासिक दिनको स्मरण गर्दा विगतको ईतिहास जलाउने मात्र होईन विद्यमान शोषण, दमण अन्याय असमानता र उत्पिडनको विरुद्ध संघर्ष र प्राप्तल उपलब्धीको रक्षा प्रयोग र विकास गर्न सक्ने सामर्थ्य राख्न सक्नु पर्दछ ।

नेपाल सरकार र महिला मन्त्रालयले एकसय दशौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा “समान सोच र लैंगिक समानताको लागि समान उपचार समृद्धिको लागि आधार” भन्ने नारा तय गरेको छ । महिला र पुरुष एक रथका दुई पांग्रा हुन जसरी दुईवटै पांग्राको सन्तुलन विना रथ गुड्न सक्दैन त्यस्तै महिला र पुरुषमा देखिएको असमानताका कारण समाजको विकासको गति रोकिन्छ । ८ मार्चको लागि तय भएको नारा सही छ ।

“समृद्ध नेपाल सुखी नेपाली” नारालाई साकार पार्न समान सोच, लैंगिक समानता विना असम्भव छ । तसर्थ संविधान प्रदत्त हकको कार्यान्वयन घरेलु श्रमलाई राज्य कुल ग्राहस्थ आयमा जोड्ने, महिला पक्ष राष्ट्र भएर अन्तर्राष्ट्रिय स्तरमा हस्ताक्षर गरिएका सन्धी, अभिसन्धीहरुको पालना गर्ने राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, सामाजिक क्षेत्रमा समान अधिकार, सहअस्थित्व, सहभागितामात्र होईन अर्थपूर्ण प्रतिनिधित्व र पहुँच स्थापना गर्न महिलामाथि भईरहेको सबै खाले हिंसा विरुद्ध अभियान र संघर्षमा केन्द्रित गर्न आवश्यक छ ।

विचारात्मक र एकताबद्ध संगठित संघर्षले मात्र रुपान्तरण सम्भव हुने हुँदा ११० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस गौरवपूर्ण ईतिहासको रक्षा, चूनौतिपूर्ण वर्तमानको सामना गर्ने आँट र उज्ज्वल भविष्य निमार्णको लक्ष्य सहित मनाऔं । अन्तर्राष्ट्रिय महिला श्रमिक महिला दिवसको सबै सबैमा शुभकामना ।
पूर्व मन्त्री कल्पना धमला