मलेसिया सँग नेपाल पराजित

Avatar photo
Dhadingpost
फाल्गुन १७, २०७६

काठमाडौं फागुन १७ । नेपालले एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा मलेसियासँग पराजित भएको छ ।

थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको यस प्रतियोगितामा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपाली खेलाडीहरुको ब्याटिङ नचल्दा नेपाल २३ रनले पराजित भएको हो ।

नेपालले शर्विन मुनियन्डेले कुनै रन नदिई ३ विकेट लिएपछि नेपाल पराजित हुन पुग्यो । ओपनर कुशल मल्ललाई पहिलो ओभरको दोस्रो बलमै पवनदीप सिंहले अहमद फैजबाट शुन्यमा क्याच आउट गराए ।

सयाजरुल इदूसले चौथो ओभरको पहिलो बलमा पारस खड्कालाई अहमद फैजबाट ९ रनमा क्याच गराएपछि नेपाल दबाबमा परेको थियो । खराब सुरुवात गरेको नेपाललाई तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले ५९ बलमा ६७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

ज्ञानेन्द्रलाई पवनदीप सिंहले १३ औं ओभरको पाँचौ बलमा अहमद फैजबाट ३८ रनमा क्याच आउट गराए । ज्ञानेन्द्रले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १६ औं ओभरको दोस्रो बलमा दीपेन्द्रलाई शर्विन मुनिन्डेले विरनदीप सिंहबाट ३८ रनमा क्याच गराए । दीपेन्द्रले ४० बलमा १ चौका प्रहार गरे ।

१७ औं ओभरको पाँचौ बलमा पवन सरार्फ १९ रनमा खाजिर हायतको एलबिडब्लू आउटको शिकार बनेपछि नेपाललाई कठिन बनेको थियो । पवनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

१८ औं ओभरको दोस्रो बलमा आरिफ शेख ५ रनमा आउट भएपछि नेपाललाई झनै कठिन बनेको थियो । शर्विनले ३-४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । मलेसियाका पवनदीप सिंह, इजात इर्दुस र खिजार हायतले २-२ विकेट लिए ।

त्यसअघि थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । युवा ब्याट्सम्यान सैयद अजिज ३५ बलमा ४ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे ।

त्यस्तै अमिनुदीन राम्ली १८ बलमा २ चौका र १ छक्का सहित २९ रनमा क्याच आउट भए । एक समय १३।५ ओभरमा ८९-५ को कमजोर अवस्थामा रहेको मलेसियालाई अजिज र रम्लीले छैटौं विकेटका लागि ३५ बलमा ६३ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याए ।

लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो ओभरको दोस्रो बलमा ओपनर विरनदीप सिंहलाई पवन सरार्फबाट ३ रनमा क्याच आउट गराउँदै आफ्नो टि ट्वान्टी करिअरको एक सय विकेट पुरा गरे ।

लगत्तै अर्को बलमा सन्दीपले खिजार हायतलाई पवनबाटै शुन्यमा क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाए । लगातार दुई विकेट गुमाएको मलेसियालाई तेस्रो विकेटका लागि ओपनर मोहम्मद अनवार अरुदीन र कप्तान अहमद फैजले ३८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

तर सन्दीपलेनै नवौं ओभरको पाँचौ बलमा अरुदीनलाई पवनबाटै ३१ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडे । अरुदीनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । चौथो विकेटका लागि अहमद फैज र सैद अजिजले ३४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।

१४ औं ओभरको दोस्रो बलमा अभिनाश बोहराले अहमद फैजलाई ३० रनमा बोल्ड आउट गरे । फैजले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । अभिनाशले पाँचौ बलमा मोहम्मद आरिफलाई पनि १ रनमा बोल्ड आउट गरे सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।

सुशन भारीले ३ ओभरमा २६ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । अभिनाश बोहराले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । पवन सरार्फले २ ओभरमा १७ रन खर्चिए । पारस खड्काले ३ ओभरमा २० रन खर्चिए । करण केसीले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए ।

नेपालले दोस्रो खेलमा आइतबार हङकङसँग खेल्ने छ ।