
काठमाडौं फागुन १५ । सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैया पूर्वाधार विकास कर लिने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि ५ रुपैयाँ लिने गरिएको थियो ।
सरकारले पूर्वाधार विकास कर बढाए पनि तत्काल मूल्य नबढाइने नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार प्रतिलिटर ५ रुपैयाँका दरले कर लिँदा मासिक ७० देखि ८० करोडसम्म जम्मा हुन्थ्यो भने अब डेढ अर्ब रुपैयाँ संकलन हुने अनुमान छ ।
यस अघि सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिँदै आएको थियो ।

