
नयाँ डिल्ली फागुन १४ । भारतको राजधानी नयाँ दिल्लीमा जारी हिंसात्मक झडपमा एक प्रहरी अधिकृत सहित १८ जनाको मृत्यु भएको छ ।
दशकौँ यताको खराब दङ्गामा अहिले सम्म झण्डै २०० जना भन्दा बढी घाइते भएको जनाईएको छ । नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ ।

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भिडलाई तितरबितर बनाएको छ ।

यो भिडमा खासगरी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य समेत रहेका थिए । उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए । तस्वीरः नवभारत टाइम्स

