
दिल्ली फागुन १४ । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन् ।
कम्तीमा १३ जनाको ज्यान गइसकेको छ। तीमध्ये एक प्रहरी थिए । कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन् । लाठी र ढुङ्गा बोकेका भिडले कुटपिट गर्दै हिँड्ने हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका छन् ।
हिंसाले साम्प्रदायिक स्वरूप ग्रहण गरिरहेको छ । हिन्दू र मुस्लिम भिडबीच झडप भएका छन् ।पसल तथा घरहरू जलाइएका छन् ।
पत्रकारहरूमाथि पनि हमला भएका छन् । उनीहरूलाई दङ्गाको दृश्य भिडिओ नखिच्न चेतावनी दिइएका छन् । भारतका गृहमन्त्री अमित शाहले शान्तिको अपिल गरेका छन् ।
गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ तथा दिल्लीको छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाएको छ । हिंसाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण समेत छायाँमा पारेको बीबीसी नेपाली सेवाले बताएको छ ।
