नागढुंगा-मुग्लिन सडक तीन लेनको बनाईने

Avatar photo
Dhadingpost
फाल्गुन ५, २०७६

काठमाडौं फागुन ५ । नागढुंगा-मुग्लिन सडक तीन लेनको बनाईने भएको छ । कुल ९४ किलोमिटरको सडकमा आधाभन्दा बढि भागमा एक लेन थप गरिने योजना रहेको सडक विभागले जनाएको छ ।

यसअघि विभागले सो सडकलाइ चार लेनमा विस्तार गर्ने बताएको थियो । तर, नागढुंगा सुरुङमार्ग, फास्ट ट्रयाक निर्माण र बैकल्पिक सडक निर्माण लगायतका योजना भएकाले तत्काल सडक र यातायात सहज बनाउन एक लेन मात्र थप गर्न खोजिएको विभागले जनाएको हो ।

सडकको उक्त खण्ड अन्तरगत ७ किलोमिटरमा चार लेन, एक किलोमिटरमा ६ लेन र बाँकी भागमा तीन लेन बनाइने सडक विभाग अन्तरगत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

‘कृष्णभीर, मनकामना केबलकारदेखि मुग्लिन खण्डका साँघुरा सडक विस्तार गर्न सकिदैन होला । किनकी माथिबाट पहिरो आएर समस्या आउने हुँदा त्यसलाइ छुदै नछुने । ती बाहेक सजिला ठाउँहरुमा एक लेन थपिदिने योजना छ’ उनले भने, ‘९४ किलोमिटर भनेका छौं । त्योमध्ये आधाभन्दा बढि तीन लेन बन्छ ।’

सडकखण्डमा २१ ओटा पुल बन्नेछन् । पुल भने सबै चार लेनको हुने बताइएको छ । हाल भइरहेका दुई लेनको पुल नभत्काई त्यससँगै ‘साइड’मा सडक जत्तिकै चौडाइको पुल निर्माण गरिनेछ । सोही परियोजनाअन्तर्गत झण्डै १० वटा आकाशेपुल निर्माण गर्ने योजना छ ।
सडक निर्माणका लागि झन्डै २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सडक विस्तार तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

यस सडकको विस्तारको तयारीसँगै त्यसको विकल्पका रूपमा त्रिशूली नदी पारिपट्टिको सडक निर्माणको योजना बनाइएको छ ।

राजमार्गसँग समानान्तर हुनेगरी गल्छीदेखि विशालटारम्म दुई लेनको सहायक सडक निर्माण हुने थापाले बताए र स्थानीय तहले यसअघि नै सडकको ट्रयाक खोलिसकेकाले दुइ लेनको सडक बनाइने योजना भएको बताए ।