
धादिङ माघ १२ । धादिङको बेनिघाट राेराङ ३ मा हरेक नागरिकको स्वास्थ्य विमा गर्ने गरि स्वास्थ्य विमा गर्न सुरु गरिएकाे छ ।
वडा प्रमुख भुवन त्रिपाठीले विमा कार्ड वितरण गर्दै आजबाट औपचारिक रुपमा नागरिकको स्वास्थ्य विमा गर्ने अभियान सुरु गरेका हुन् ।
कार्ड वितरणकाे सुरु गर्दै वडा प्रमुख त्रिपाठीले भने-परिचयपत्रको आधारमा बीमा गरिसकेका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकिन्छ ।
पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति दश हजारका दरले क्षतिपूर्ति दिइने व्यवस्था रहेको छ ।
५ जनासम्मको परिवारले स्वास्थ्य बीमा गर्दा वर्षमा ३५ सय रुपैयाँ तिर्नुपर्छ । त्यो भन्दा बढी सदस्य भएको परिवारले प्रतिव्यक्ति ७ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । बीमा गरेका ५ सदस्य परिवारले एक वर्षमा बढीमा एक लाख र त्यो भन्दा धेरै अथवा १० सदस्य भएका परिवारले दुई लाख बराबरको स्वास्थ्य सेवा पाउँनेछन् ।
बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था रहेको समेत उनले जानकारी दिए ।
सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था रहेकाे हुँँदा स्वास्थ्य विमा सबैले गर्नु पर्ने प्रमुख त्रिपाठीको धारणा छ ।
राज्यले दिएकाे सुविधा अन्तरगत हरेक नागरिकले एक लाखकाे स्वास्थ्य विमा गर्न सक्छन् । याे वार्षिक कार्यक्रम हाे ।

