डोनल्ड ट्रम्पद्वारा इरानी सर्वोच्च नेतालाई चेतावनी

Avatar photo
Dhadingpost
माघ ४, २०७६

बिबिसी माघ ४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईलाई “आफ्ना शब्दप्रति सचेत रहन” चेतावनी दिएका छन् ।

तेहरानमा शुक्रवार एउटा सार्वजनिक प्रवचनका क्रममा खामेनेईले संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो ।

हजारौँ मानिसलाई सम्बोधन गर्दै खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्पलाई “जोकर” को सङ्ज्ञा दिए भने इराकस्थित अमेरिकी सैन्य आधारशिविरमाथि इरानले हालै क्षेप्यास्त्र प्रहार गरेकोमा प्रशंसा गरे ।

शुक्रवार ट्वीट गर्दै ट्रम्पले “सर्वोच्च नेता भनिए पनि खामेनेई सर्वोच्च नरहेको” र इरानको अर्थतन्त्र धरमराइरहेको तथा त्यहाँका जनताले दुःख झेल्नु परेको दाबी गरे ।

दुई हप्ताअघि अमेरिकाले आक्रमण गरी इरानका वरिष्ठ सैनिक जेनरल कासिम सुलेमानीलाई मारिदिएपछि वाशिङटन र तेहरान बीचको तिक्तता झन् बढेको छ ।