बिबिसी । ब्राजिलपछि अहिले अस्ट्रेलियामा फैलिएको विनाशकारी डढेलोले संसारभरिबाट मानिसहरूको ध्यान तानिरहेको छ।

अधिकारीहरूका अनुसार सेप्टेम्बरयता डढेलोमा परेर त्यहाँ कम्तीमा २३ जनाको ज्यान गइसकेको छ।
अझै दर्जनौँ मानिस हराइरहेका छन् भने डेढ हजारको सङ्ख्यामा घरहरू डढेलोका कारण ध्वस्त भएका छन्।
दक्षिण-पूर्वी अस्ट्रेलियाका विभिन्न भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
प्रधानमन्त्री स्कट मरिसनले देशभरि डढेलो नियन्त्रणमा सघाउनका लागि तीन हजार रिजर्भ फौज परिचालन गरिने घोषणा गरेका छन्।
रक्षामन्त्री लिन्डा रेनोल्ड्सका अनुसार अस्ट्रेलियाको इतिहासमा यस्तो गर्न लागिएको यो पहिलो पटक हो।
प्रस्तुत छ अस्ट्रेलियामा जारी विध्वंसकारी डढेलोबारे प्रज्ज्वल बरालका भनाइ उनकै शब्दमाः
नेपालमा मेरो पुर्ख्यौली घर सिन्धुली जिल्लामा हो। म अस्ट्रेलियामा बस्न थालेको ११ वर्ष जति भयो।
म अहिले साउथ वेल्स राज्यको साउथ नरामा बस्छु। म बस्ने ठाउँ भनेको प्रशान्त महासागरको तटीय क्षेत्र हो।
मेरो अनुभवमा अस्ट्रेलियामा हरेक गर्मी याममा डढेलो लाग्नु सामान्य प्रक्रियाजस्तै हो।

तर यसपालि निकै ठूलो स्तरमा डढेलो फैलियो। एकदम भयावह नै भयो। म आफैँ बस्न थालेयता यो स्तरको प्राकृतिक प्रकोप मैले देखिएको थिइनँ।
यहीँका मेरा स्थानीय छिमेकीहरूले आफ्नाो जीवनकालमा ‘यसअघि कहिल्यै नदेखिएको’ डढेलो भनिरहेका छन्।
डढेलो फैलिएको डेढ महिना जति भइसक्यो। तर रोकिने कुनै सङ्केत देखिएको छैन।
पानी परेको पनि धेरै भइसक्यो। खडेरीका कारण हाम्रै ‘लन’ मा घाँस सुकिसकेका छन्। पहिला प्रायः हरियो हुन्थ्यो, बेलाबेला हामीले पानी हाल्थ्यौँ।
हाम्रो नेपालका गाउँघरमा देखिने सुकेको परालजस्तै घाँस भइसकेको छ। त्यो स्तरको खडेरी छ अहिले।
कहिले पानी पर्ला र यो डढेलो रोकिएला जस्तो भइरहेको छ।
मानवीय क्षति
यहाँ प्रकोप व्यवस्थापन चुस्तदुरुस्त हुने भएकोले होला मानवीय क्षति एकदमै न्यून हुने रहेछ।
हुन त न्यू साउथ वेल्समा नौजना मारिएको खबर छ। तर त्यस्तो मृत्यु आफ्नो सम्पत्ति हामी आफैँ जोगाउँछौँ भनेर मानिसहरू लागेपछि भएको भनिँदैछ।
त्यस्तै डढेलो नियन्त्रणमा लिन प्रयासरत केही अग्निनियन्त्रकहरूको रूख ढल्दा च्यापिएर ज्यान गएको हो।
भन्न खोजेको यहाँ व्यवस्थापन एकदमै चुस्त छ। बेलाबेला पूर्वसूचनामार्फत् मानिसहरूलाई सजग गराउने गरिएको छ।
उदाहरणका लागि हामी बस्ने ठाउँतिर आज विध्वंशकारी स्तरमा डढेलो लाग्ने पहिल्यै अनुमान गरिएको थियो र केही दिन पहिलादेखि नै पूर्वजानकारी गराइएको थियो।
ती प्रयास हुँदा हुँदै विध्वंस रोक्न सकिएको छैन। जनावरहरू त कति मरे, त्यसको हिसाब नै छैन।
स्थानीय सञ्चारमाध्यममा आए अनुसार अहिलेसम्म १६० ठाउँमा डढेलो लागेको छ र त्यसमध्ये ६० जति नियन्त्रणबाहिर रहेको बताइएको छ।
डढेलो नियन्त्रणमा लागेकाहरूले त्यसको असर न्यूनीकरणमा मात्रै गर्न सकिने भनिरहेका छन्।
म तपाईँलाई के भन्न सक्छु भने यो स्तरको प्राकृतिक प्रकोप नेपालमा भएको भए ठूलो मानवीय क्षति हुन्थ्यो।
केही दिनअघि मात्रै भिक्टोरियाको एउटा ठाउँबाट सेनाले तीन हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो।
प्राकृतिक प्रकोपको चपेटामा परेका मानिसहरूलाई त्यसरी सेनाले उद्धार गरेर स्थानान्तरण गरेको अस्ट्रेलियाकै इतिहासमा पहिलो पटक भनेर स्थानीय सञ्चारमाध्यमले भनिरहेका छन्।

आपसी सहयोग
नेपालबाट हेर्दा यहाँका मानिसहरू आत्मकेन्द्रित होलान्, एकअर्कालाई हेर्न समय हुँदैन भन्ने सोचिन्छ, तर त्यस्तो छैन ।
एकअर्कालाई मानिसहरूले सहयोग गरिरहेका छन् । मेरै एक अस्ट्रेलियाली साथीले ‘तिमीलाई केही सहयोग चाहिएमा भन, तिमी मकहाँ आउन सक्छौँ’ भनेर मेसेज गरे ।
मानिसहरूले सक्दो सहयोगका लागि एकअर्कालाई सोधिरहेका हुन्छन् । एकअर्कालाई सहयोग गर्ने भावना उच्च छ ।

