
धादिङ पुस १८ । धादिङको ज्वालामुखि गाउँपालिकाले संचालन गरेको गाउँपाकिा भित्रको माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित भएको छ ।
भव्य समारोहका बीच मंगलबार शमिभञ्ज्याङ माविको खेल मैदानमा सुरु भएको यस प्रतियोगिताको समापन आजलाई तयारी गरिएको थियो तर बिहानै देखि परेको पानीका कारण खेल मैदान हिलो भएकोले प्रतियोगिता अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित भएको हो ।
ज्वालामुखी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भएको खेल मैदानको हिलो सुक्न केहि दिन लाग्ने हुनाले अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित भएको सहआयोजक शमिभञ्ज्याङ माविका प्रधानाध्यापक बसन्त श्रेष्ठले धादिङपोष्टलाई बताए ।
कबड्डी र भलिबलका केहि खेलहरु बाँकी छ, बिहिबार बिहानै देखि झरी पर्यो भर्खर निमार्ण गरिएको खेल मैदान पुरै हिलाम्मै छ हिलो सुन्नै केहि दिन लाग्छ अ गाउँपालिकाले सूचना जारी नगर्दा सम्म खेल स्थगित भएको प्रधानाध्यापक श्रेष्ठले बताए ।
धादिङका १३ वटा पालिका मध्य सिद्धलेकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगर्ने बताए पनि अन्य गाउँपालिकाले प्रतियोगिताको तयारी गरि रहेका छन् जसमा नेत्रावती डब्जोङ गाउँपालिकाले पुस २० गतेबाट, बेनिघाट रोराङले पुस २९ गते देखि, त्रिपुरासुन्दरी गाउँपालिकाले माघ ३ गते देखि र गंगाजमुना गाउँपालिकाले माघ ९ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएका छन् ।
