
धादिङ पुस १५ । धादिङबाट प्रदेश सांसदमा जितेका राजेण्द्रप्रसाद पण्डेले प्रदेश राजधानी तोक्न विषयमा पार्टीले हस्तक्षप गर्न नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रले प्रदेश ३ को राजधानी हेटौडा र नाम बागमती राख्न निर्देशन दिएपछि आक्रोशित बनेका पाण्डेले प्रदेश सांसदहरुको क्षेत्राधिकार भित्रको कुरा पार्टी केन्द्रले हस्तक्षेप गर्न नहुने पाण्डेले बताएका हुन् ।
‘संविधानमा के लेखिएको छ ? त्यो संविधानमा हस्ताक्षर गर्ने नेताहरु को को हुन् ? किन हस्ताक्षर गरे ? त्यसकारण राजधानीको टुङ्गो लगाउने अधिकार संविधानले जसलाई दिएको छ, त्यसले मात्रै काम गर्छ, गर्नुपर्छ,’ पाण्डेले भने, ‘कसैले भन्दैमा त्यही गर्नुपर्छ भन्ने हुँदैन ।
नेकपाको दुईतिहाई सांसदहरु रहको ३ नम्बर प्रदेशमा राजधानी तोक्ने विषयमा नेकपा सांसदहरु विभाजित छन् ।
प्रदेश राजधानीबारे संविधानमा के छ ?
नेपालको संविधानको धारा २८८ मा राजधानीबारे उल्लेख छ । जसको उपधारा १ मा नेपालको राजधानी काठमाडौँमा हुनेछ भनिएको छ भने उपधारा २ मा प्रदेशको राजधानी प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने व्यवस्था गरिएको छ । त्यस्तै उपधारा ३ मा उपधारा २ बमोजिम निर्णय नभएसम्म नेपाल सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने भनिएको छ ।

