
धादिङ पौष २ । उत्तरी धादिङको खनियाबास ५ पुगेका प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बच्छला माविलाई क्याम्पस बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
बच्छलादेवी माध्यमिक विद्यालयको ४५ औं वार्षिक उत्सवमा सम्बोधन गर्न पुगेका मन्त्री दुलालले क्याम्पस बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
क्याम्पस सञ्चालनको लागि सहयोगार्थ आयोजित बृहत सांस्कृतिक कार्यक्रम तथा ४५ औँ वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री दुलालले प्राबिधिक र सिपयुक्त शिक्षामा प्रदेश सरकारले जोड दिएको समेत बताएका थिए ।
कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद जगत सिंखडाले उत्तरी धादिङ शिक्षा स्वास्थ्य र सडकबाट टाढा हुन नदिने बताएका थिए । सांसद सिंखडाले धादिङवेसी, साङ्कोष, तिप्लिङ सडक खण्डलाई स्तरोन्नती गर्दै तिप्लिङसम्म नै सडक पु¥याउने प्रतिबद्धता समेत जनाएका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिल बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्रीहरु दिलमान पाख्रिन र परसुराम तामाङ, प्रदेश सांसद डा. राम कुमार अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

