
धादिङ मंसिर ९ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेपालको सातौँ महाधिवेशनबाट धादिङका रिता थापा र हिमाल घले निर्वाचित भएका छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा लोक तथा दोहोरी गीतको क्षेत्रमा चर्चा कमाएकी धादिङ नीलकण्ठ नगरपालिका सोह्रघरकी रिता थापा वरिष्ठ उपाध्यक्षमा र नेपाली लोक दोहोरी क्षेत्रमा जमेका स्वरका धनी हिमाल घले केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । धादिङका यी दुबै जना अधिवेशनमा निर्विरोध निर्वाीचत बनेका हुन् ।
पोखरामा सम्पन्न उक्त सातौँ महाधिवेशनमा विष्णु खत्रीलाई पराजित गर्दै अध्यक्षमा रमेश बिजी विजयी भएका थिए ।
देशभरिबाट १ हजार ३४८ कलाकारहरुले मतदानमा भाग लिएको निर्वाचन प्रक्रियामा १० जना निर्विरोध निर्वाचित भए भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि मात्रै मतदान गरिएको थियो ।
मतदान भएको पदाधिकारीमा मध्ये राजु ढकाल कोषाध्यक्ष, इश्वरीप्रसाद भुषाल सहकोषाध्यक्ष, कृष्ण रेउले प्रशासनिक सचिवमा विजय भएका छन् भने सात खुला सचिवमा १३ जनाको उमेदवारी परेकोमा जीवन दाहाल, रमेश राज भट्टराई, कुलेन्द्र विक, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुष्कल शर्मा निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुनेमा प्रतिष्ठानका उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी, उपमहासचिवमा शंकर विसी र शिव हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राणामगर र सहकोषाध्यक्षमा पूर्णकला विसी रहेका छन् ।

