
काठमाडौं असोज २८ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गरेको नेपाल क्रिकेटको निलम्बन फुकुवा गरेको छ ।
सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन सशर्त फुकुवाको निर्णय गरेको हो ।
आईसीसीले नेपाललाई २०१६ मा निलम्बन गरेको थियो । यो निलम्बनपछि उसकै अगुवाईमा विधान संशोधन हुनुका साथै हालै भएको निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनाएको थियो ।
आईसीसीले जारी गरेको वक्तव्यमा क्रिकेट संघलाई के-के शर्त राखिएको भन्ने खुलाइएको छैन । तर निलम्बनको निर्णय गर्दा क्रिकेट संघमा सरकारी हस्तक्षेपसँगै व्यवस्थापन, आर्थिक पारदर्शीता लगायतका मुद्दा उठाएको थियो ।
अहिले नयाँ कमिटी निर्वाचित भएपनि विगतमा उठाएका अरु चासो सम्बोधन हुन बाँकी नै छ । त्यसैले क्रिकेट संघको व्यवस्थापन, आर्थिक पारदर्शीता लगायतका मुद्दालाई नै आईसीसीले शर्त बनाउन सक्ने क्रिकेट संघका एक सदस्यले बताए ।
पछिल्लो समय नेपालमा लोकप्रिय हुँदै गएको क्रिकेट खेल र निलम्बनमा परेको क्रिकेट संघका कारण अन्तराष्ट्रिय खेल प्रभावित बनेको थियो ।
