झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु

Avatar photo
Dhadingpost
भदौ ३१, २०७६

धादिङ भाद्र ३१ । मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा झाँक्रीले पेट चिरिदिएका ३९ वर्षीय राजु मगरको सोमबार मृत्यु भएको छ ।

पेट चिरेर निको नभएका राजुलाई अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो । २ महिनाअघि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । पेट चिरेर विकार निकालेबापत् ८ हजार रुपैयाँ पनि असुलेका थिए ।

झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो । तर, काठमाडौँ नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइ दिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकाली दिएर फिर्ता गरिदिएको थियो ।

लामाविरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन् । हाल उनी फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा हरिहरसिंह राठौरले लेखेका छन् ।