
गोपाल फ्युवा
धादिङ भाद्र ११ । उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नं १ झार्लाङको गिलिङचोमा बोम्बो मेला हुने भएको छ ।
परम्परागत रुपमा प्रचलित संस्कार र संस्कृतीको निरन्तरता स्वरुप भाद्र २८ गते पूर्णिमामा तामाङहरुको मूख्य संस्कृति बोम्बो मेला हुनलागेको हो ।
बोम्बो मेलामा स्थानीय बोम्बोहरुको सहभागिता रहने बोम्बो संघका सचिव छ्योयोङ तामाङले बताए । तामाङहरुको जीवित रहँदाका सबै संस्कारहरु सम्पन्न गर्न बोम्बोको आवश्यकता पर्दछ ।
बोम्बोले देवदेवीलाई पुजाआरधना गर्ने तथा भुतप्रेतलाई मन्छाउने कार्य पनि गर्दछ । रोग बिमारमा प्राकृतिक विधिबाट उपचार पनि गर्दछ । तन्त्र, मन्त्र र साधनामा विश्वास गर्ने बोम्बोहरु थप शक्ति आर्जनकोलागि शक्ति केन्द्रहरुमा प्रार्थना गर्न अनुयायी र समर्थक सहित जाने गर्दछन् । स्थानीय बोम्बोहरु गोनेङ्यहमा सिङ्ल्ह जाने गर्दछन् । त्यहाँ पुग्न नसकेका वा नभ्याएकाहरु गिलिङचोमा पुग्ने गरिन्छ ।
भ्रमण वर्ष २०२० घोषणा नेपाल सरकारले गरिसकेको सन्दर्भमा यश प्रकारको फरक संस्कृतिको प्रचार, प्रसार तथा प्रदर्शन गर्न प्रोत्साहन दिनु पर्दछ ।
गिलिङचो
गिलिङचो राजा दुम्जीको दरवार रहेको कथन पाइन्छ । उनको दरवार क्षेत्रमा कहिल्यै नसुक्ने दह थियो । कतलन्तरमा गिलिङचोमा बस्ने र दहमा बस्ने नागबिच कुरा मिलेन । नागलाई मारिदिए । अहिले गिलिङचो गुम्बाको रुपमा प्रचलित छ । तर यहाँ बोम्बोहरुका कुङकर पनि रहेको र वर्षेणी बोम्बोहरुले पुजापाठ गर्ने गरेको पाइन्छ ।

