फोटो पत्रकारिताको आयाम र खोज

Avatar photo
Dhadingpost
साउन ३२, २०७६

हजार शब्दको वर्णन एउटा तस्विरले गर्न सक्दछ । आम मान्यता ही रहँदै आएको छ । परम्परागत तरवले खिचिँदै आएको तस्विरमा आज ठूलो परिवर्तन आएको छ ।

विज्ञान तथा प्रविधिको विकासले ल्याएको परिवर्तन सँगै फोटो पत्रकारितामा समेत अनेकन नयाँ आयाम थप भएको छ । सहज प्रविधिको प्रयोगले खिच्दा खिच्दै गरेको तस्विर सम्बिन्धत सञ्चार माध्यममा पुग्ने र एकाध सेकेण्डमा नै प्रकाशित हुने अवस्था सिर्जना भएको छ । जतिसुकै राम्रो समाचार सामग्री बनाइएपनि त्यसमा तस्विर छैन भने त्यसको सान्दर्भिकता नरहन सक्छ ।

तस्विर जीवन्त विधा हो, यसले सत्य बोल्छ र तथ्यको उद्घाटित गर्दछ । आम मानिसहरु भन्छन्, कति राम्रो फोटो है । कति राम्रो खिचेको आदि इत्यादी ।

शब्द भन्दा फोटोको प्रभाव हजार गुणा बढी रहन्छ । शब्दले भावना बोल्छन् तर भावनालाई साँच्चै भावनामा परिवर्तन गर्ने तागत भने फोटोले राख्दछ । विज्ञान र प्रविधिको आविस्कारले पनि त्यसैलाई सम्मोहित गर्दछ । सन् १९९० को दशकपछि आम रुपमा डिजिटल प्रविधिको प्रयोग सुरु भयो ।

रिलमा खिचिने तस्विर पछिल्लो दिनमा सहज रुपमा डिजिटल प्रविधिमा खिचिन थालेको छ । त्यसले आम पाठक, दर्शक तथा जानकारलाई समेत सहज र सरल बनाइदिएको छ । फोटो पत्रकारिताको चार्म पनि बढ्दै गएको छ । मानिसको चाहना पनि उत्तिकै बढ्दै गएको छ ।

विज्ञान तथा प्रविधिको उच्चतम अभिव्यक्तिका रुपमा आएका स्मार्टफोनले हरेक घरमा फोटोग्राफर जन्माइदिएको छ । नागरिक पत्रकारिताको रुपमा आफूलाई मन लागेको तस्विर खिच्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन पनि उत्तिकै बढेको छ । त्यसले फोटो प्रतिको अनुराग समेत बढाइदिएको छ ।

पत्रकारिता पनि आम रुपमा पुगेको छ, त्यसलाई नागरिक पत्रकारिताको रुपमा लिन सकिन्छ । सामाजिक सञ्जाल विशेष गरी फेसबुक, ट्वीटर, ह्वाट्एस जस्ता सञ्जालमा दिनप्रतिनिदन फोटोको प्रयोग बढ्दै गएको छ । सहज रुपमा आम मानिसलाई जानकारी दिन मात्रै भएपनि फोटोको प्रयोग गर्ने क्रम बढेर गएको छ ।

व्यवसायिक रुपमा फोटो पत्रकारिता गर्नेलाई त नयाँ नयाँ खोज तथा उपायको जरुरत पर्ला, तर सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि मात्रै प्रस्तुत गर्नेका लागि भने त्यो अर्को सौखको विषय बन्न सक्छ । नेपालमा पनि त्यस्ता जमात बढ्दै गएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह राम्रा फोटो खिच्छन् ।

फोटो खिच्नु उनको सौख हो । भ्रमणमा जाँदा होस वा अन्य कुनै समारोह तथा कार्यक्रममा पनि पनि शाह फोटो खिच्न तथा खिचाउन मरिहत्ते गर्छन । उनले बेला मौकामा भन्ने गरेका छन् फोटो मेरो राम्रो सौख हो । मेरा जीवनमा आरोह अवरोहका धेरै कालखण्डमा तस्विर मसँग सुरक्षित छन् ।

विशेष गरी पदयात्रामा जानेहरुले हिमाल देखेका छन् । प्रकृति देखेका छन् । अनि जनजीवन पनि राम्रोसँग देखेका छन् । त्यसलाई क्यामेरामा कैद गरेर तिनले संसारभर नेपालको परिचय दिलाएका छन् । मानिसहरुलाई सम्मोहित बनाएका छन् । नेपालमा घुक्न आउने बनाएका छन् । नेपाल जान्ने र खोज्ने बनाएका छन् । फोटो त्यस्तो सशक्त विधा हो, जससँग जीवन जोडिएको हुन्छ । फोटोसँग मानवीय समवेदना जोडिएको छ ।

पछिल्लो समयमा संसारभर नै समाचार तीन वटा विषयमा केन्द्रित हुने गरेको छ । त्यसमा क्रिकेट, क्राइम र सिनेमा रहेका छन् । यस्तै फेशन तथा ग्याल्मर पनि उत्तिकै बिक्ने गरेको छ । आमा मानिसलाई कुन विषयले बढी तान्छ भन्ने व्याख्या पनि फरक फरक हुने गरेको छ । तर आम रुपमा मानिसले कुन विषयलाई कुन आधारमा र कुन दृष्टिकोणका साथ मूल्यांकन ग¥यो भन्ने कुराले निर्धारण गर्दछ ।

पछिल्ला दिनमा प्रकृतिसँग जोडिएको विषय पनि फोटोको अर्को आकर्षणको केन्द्र बन्दै गएको छ । प्रकृतिकाृे सुन्दरता र त्यसँग जोडिएका हरेक विषयलाई फोटो पत्रकारले पनि प्रमुख स्थानमा राख्ने गरेका छन् । समुन्द्रको किनार होस वा हिमालको शिखर नै किन नहोस् त्यसले आम मानिसलाई लालायित बनाइरहेको छ । पछिल्लो पुस्ता सेल्फीमा रमाउन थालेको छ ।

प्रकृतिले दिएको अनुपमन उपहारलाई कैद गर्न लालायित जमात पनि बढेको छ । सिनेमा, अपराध र क्रिकेट भन्दा बढी बिक्री हुने क्षेत्रमा यतिखेर प्रकृति समेत पर्ने गरेको छ ।

ग्ल्यामर फोटोग्राफीका लागि समुद्री किनार महत्वपूर्ण स्थल बन्दै गएको छ । गोवाको किनार होस वा थाइल्याण्डको पटाया आम मान्छेको रोजाईको क्षेत्र बन्दै गएको छ । देश पनि देखिने, स्वाद पनि फेरिने भन्दै पर्यटक समुद्री किनार देखि हिमालको शिखर समेत पुग्ने गरेका छन् । सगरमाथाको आधार शिविरमा पुगेको जो सुकै व्यक्तिले पनि राम्रो फोटो खिचौ र अरुलाई देखाऊ भन्ने चाह राख्दछ ।

फोटोको प्रभाव र महत्व कति छ भन्ने कुरा पछिल्ला दिनमा बढ्दै गएको व्यवसायिकताले पनि पुष्टि गरेको छ । यतिखेर वसन्त ऋतु चलीरहेको छ । हिमाल आरोहरणका लागि जान चाहनेका लागि यो महत्वपूर्ण मौसम हो । सगरमाथाको शिखर आरोहणमा जानेहरुको लर्को आधार शिविरबाट उकालो लागेका छन् ।

दैनिक जसो नै सगरमाथा क्षेत्रको राम्रा र आकर्षक तस्विर सार्वजनिक गर्ने होडबाजी नै चलेको छ । स्वदेशी तथा विदेशी सञ्चार माध्यमका प्रतिनिधि सगरमाथा क्षेत्रको तस्विर खिच्न र प्रकाशनमा समेत होडबाजी गरिरहेका छन् । काठमाडौँ आफै कला र संस्कृतिको शहर हो । यहाँका मठ मन्दिर, कला कौशल तथा अन्य सम्पदाले समेत फोटो पत्रकारलाई सधै आकर्षित गरिरहेकै छ ।

काठमाडौँ, पाटन तथा भक्तपुर दरबार क्षेत्रको महत्व र अन्तर्राष्ट्रिय प्रभाव झल्काउन पनि फोटो पत्रकारले महत्वपूर्ण भूमिका खेलेका छन् । फोटो आफैमा इतिहास पनि हो । विसं २००७ को क्रान्तिको खोजी गर्नुपर्दा फोटो नै खोजिन्छ , त्यसपछि मात्रै राजनीतिक दस्वावेज र अन्य राजनीतिक विषय खोजिन्छ ।

नेपालको इतिहास बोल्ने मात्रै नभई संसारभरकै इतिहासको खोजका लागि समेत फोटो महत्वपूर्ण र आकर्षक विधा हो । राजनीतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक विषयमा ज्ञान र चासो राख्ने सबैलाई फोटो नै तानिरहेको हुन्छ । राजनीतिक परिवर्तनको साक्षी पनि क्यामेरा र फोटो नै हो भन्ने कुरा नेपालको आनै इतिहासले पुस्टि गरेको छ ।

२०४६ सालको राजनीतिक परिवर्तन, २०५२ सालपछिको जनयुद्ध, २०६२÷६३ को जनआन्दोलन, नेपालमा गणतन्त्रको घोषणा, संविधानसभाको सनिर्वाचन, संव्धिान सभाले संविधान निर्माण गरेको क्षण नै किन नहोस् सबैको एउटै साक्षीको रुपमा फोटोपत्रकारले मेहनतले खिचेको फोटो नै अग्रस्थानमा आउँछ ।

पहिलो पटक तत्कालीन नेकपा(माओवादी)का अध्यक्ष प्रचण्ड बालुवाटारमा सार्वजनिक हुँदा देख्नेहरु भन्दा फोटो खिच्नेहरु नै अग्रस्थानमा अर्थात् राजनीतिक इतिहासको वास्वविक साक्षीका रुपमा रहेका छन् । समाचार त आज लेखियो, पढियो, भोलि पूरनो हुँदै जान्छ । नौ दिनमा नौलो र बिस दिनमा बिर्सने पनि हुन्छ । तर फोटो मात्रै यस्तो विधा हो, जो कहिल्यै पनि पूरानो हुँदैन ।

नेशनल जोग्राफीका एक फोटो पत्रकार भन्छन् – फोटो पत्रकारिता जीवन र जगत बुझ्ने एक मात्रै त्यस्तो विधा हो, जो सत्यको असाध्यै नजिक पुगेको हुन्छ । उनले फोटो पत्रकारितालाई जीवनकै सबैभन्दा सुन्दर क्षणको रुपमा चर्चा गरेका छन् । उनले प्रकृति र मानवबीचको सम्बन्धको सेतु पहिल्याउने आधार पनि फोटो मात्रै भएको भन्दै फोटोपत्रकारिताको महत्वका बारेमा चर्चा गरेका छन् ।

आर्ट अफ प्रोफेसन फोटोग्राफी विषयक एक सोधमा लिन्डा रोविन्सनको भनाइ छ – तपाईले कस्तो विषयलाई आफ्नो आँखामा राख्नुहुन्छ, त्यसले तपाईलाई आकर्षित गर्दछ, त्यसलाई स्वभाविक रुपमा खिच्नुस् । जसले तपाईलाई मात्रै होइन, धेरैको मन जित्न सक्छ । आँखालाई स्वभाविक लाग्ने तस्विर नै धेरै चर्चित भएको उदाहरण पनि संसारभर पाइन्छ ।

प्रविधिले ठूलो फड्को मारेपनि फोटो पत्रकारिता व्यवहारिक र वैज्ञानिक भने बन्न सकेको छैन । यसमा गर्नुपर्ने अझै धेरै काम बाँकी छ । केही जानेर, बुझेर वा सिकेर आउने भन्दा पनि गर्दै जाँउ, भईहाल्छ नी भन्ने मान्यताका साथ काम गर्ने प्रवृत्ति पनि हावी छ । विश्वविद्यालय तथा कलेजमा फोटोपत्रकारिताको अध्ययन अध्यापन गराइन्छ । तर सैद्धान्तिक ज्ञान मात्रै लिने र दिने काम गरिन्छ । व्यवहारिक ज्ञान लिने तर्फ कोही कसैले ध्यान दिन सकेको छैन ।

पछिल्ला दिनमा कलेजहरूमा पढाइ पनि हुन थालेको छ । त्यहाँ पढेर निस्किएका विद्यार्थीले आफूलाई फोटो पत्रकारको रूपमा पनि प्रस्तुत गर्न थाले । प्रतिस्पर्धा पनि बढ्न थाल्यो । यसरी फोटो पत्रकारिताको विकास हुँदै आयो । तर, यसले जति फड्को मार्नुपर्ने हो, त्यति सकेको छैन  भन्ने धारणा छ लामो समयदेखि फोटोपत्रकारिता गर्दै आएका गोपाल चित्रकारको । चित्रकार भन्छन् ‘ नेपालमा फोटो पत्रकारहरूले गर्नपर्ने नियम, गुण दोषहरू अझै पनि धेरैले बुझेका छैनन । उनीहरूलाई बुझाउन बाँकी छ । फोटो पत्रकारिता अझै पनि परिपक्व ढंगले बढेको छैन । अहिले सयौँको संख्यामा रहेका पत्रकारहरूले आफूलाई फरक रूपमा फोटो खिच्न सक्ने बनाउनुपर्छ ।’

यतिखेर फोटो खिच्न कुनै गाह्रो छैन । पहिले त दिमाग, लाइट, एक्स्पोजर चाहिन्थ्यो । नभए त फोटो नै खिच्न सकिँदैन थियो । अहिले यस्तो केही चाहिँदैन । अहिले त फोटो खिच्नु भनेको ‘पाकेको भात पस्केर खानु’जस्तै भएको छ  भन्छन् चित्रकार । उनका शब्दमा फोटो खिच्न कुनै मेहनत नै पर्दैन । यस काममा प्रतिस्पर्धा कम छ, पारिश्रमिक कम छ, इज्जत अन्य पत्रकारलाई जति छैन ।’ उनले भने सरकारले पनि फोटो पत्रकारितालाई ‘अनर’ गरेको छैन । ‘अनर’ त के मान्यता पनि दिएको छैन । पत्रकारलाई हौसला छैन । यहाँ योग्य मान्छेलाई प्रोत्साहन पनि छैन, त्यसैले प्रतिस्पर्धा कम भएको हुन सक्छ ।’

थप जोड दिँदै चित्रकार भन्छन् ‘ जोकोहीले आफ्नो भविष्य आफ्नै कर्मले निर्धारण गर्ने हो । डिजिटल युग बढ्दै जाँदा फोटो पत्रकारिता चुनौतीपूर्ण अवस्थामा छ तर यो सिर्जनशील पेसा हो । जति नयाँ सिर्जना गर्न सकिन्छ, त्यति टिक्छ । ‘फुजी’, ‘कोडाक’जस्ता विश्वप्रख्यात कम्पनीहरू बन्द भए । फोटोग्राफीमा आश्चर्यजनक विकास भएको छ ।’

उनले प्रविधिमा आइरहेको प्रविधिलाई जोड दिँदै भनेका छन् – प्रविधि यति अघि बढिसक्यो कि अब सिर्जनशील भइएन भने यसको अर्थ हुँदैन । फोटो त जसले पनि खिच्न सक्छ, तर ‘इनोभेटिभ फोटोग्राफी’ गर्न क्षमता अनि कला चाहिन्छ ।

प्रविधिको विकाससँगै फोटोग्राफी कम महत्वको विषय बनेको हो कि भन्ने आभास हुन्छ तर यसको महत्व बढाउने फोटो पत्रकारले हो । पेसागत मोटिभेसन हुने हो भने नेपाली फोटो पत्रकारिताको एउटै चुनौती भनेको ‘क्रियटिभिटी’ मात्रै हुन सक्छ ।’

सिर्जनशिलतालाई केन्द्रमा राखेर फोटोपत्रकारिता गर्दा त्यसले दिने परिमाण पनि सकारात्मक र सिर्जनात्मक नै हुन जान्छ । आम मानिसलाई पनि सिर्जनाशिलता प्रिय लाग्छ । त्यसकारण फोटोपत्रकारले इमान्दार भएर पेशामा क्रियाशिल हुनु पर्छ । इमान्दार प्रयासले मात्रै सार्थक परिमाण दिन सकिन्छ । त्यसलाई ध्यान दिएर अगाडि बढ्दा मात्रै फोटो पत्रकारिताले प्रभाव र महत्व राख्दछ ।

(लेखक धादिङ नीलकण्ठका लम्साल पत्रकार राष्ट्रिय समाचार समितिका कार्यरत छन् )