
धादिङ नलाङ, साउन २८ । सिद्धलेक गाउँपालिका नलाङ स्थित चक्रदेवी सामुदायिक समाज धादिङले राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका तीन खेलाडीलाई सम्मान गरेकाे छ ।
जिल्ला भित्र बिभिन्न खेलकुद क्रियाकलापहरु संचालन गर्दै खेलकुद विकास र प्रवर्धनका क्षेत्रमा आफ्नो उपस्थीति जनाउदै आईरहेको चक्रदेवी सामुदायिक समाज धादिङले मंगलबार एक विशेष समाराेहका बीच तीन खेलाडीलाई सम्मान गरेकाे हाे ।
सम्मानित हुनेमा पाँचथर जिल्ला हिलीहाङ गाँउपालिका ५ हाल नेपाल महिला भलिवलकी मेधावी खेलाडी कोपिला उप्रेती, ज्वालामुखी गा.पा.२ मैदी हाल नेपाल आर्मी क्लबका खेलाडी एवं राष्ट्रिय पुरुष भलिवल खेलाडी सरण सामरी र धादिङ जिल्ला ज्वालामुखी गा.पा. ६, सुनखानी हाल महिला दौड विधामा राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ठ खेलाडी बन्न सफल सन्तोषी श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई नगद, प्रमाण पत्र एवं मेडल द्वारा सम्मान गरिएकाे नलाङबाट शंकर सिलवाले धादिङपाेष्टलाई बताए ।
कार्यक्रम नेदरल्याण्ड भलिवल संघका मेनेजर पिटर भान तरेलको प्रमुख आतिथ्यतामा एवं चक्रदेवी सामुदायिक समाज नेपालका संयोजक एवं नलाङ मोडेल एकेडेमीका अध्यक्ष राम बहादुर सिलवालको अध्यक्षतामा र बिभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेकाे थियाे ।
प्रमुख अतिथि पिटर भान तरेलले खेलकुदको महत्व दर्साउदै मानव स्वास्थ्यको लागी आवश्यक पक्षहरुमा खाना, सरसफाई र शारीरिक कसरत अन्तरगत खेलकुद अति नै महत्व रहेकाे बताएका थिए ।





