नेपाल कतार सँग पराजित

Avatar photo
Dhadingpost
साउन ७, २०७६

धादिङ साउन ७ । आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट खेल अन्तर्गत पहिलो खेल नेपालले कतारसँग पराजित भएको छ ।

नेपालको १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २० औं ओभरमा ७ विकेट गुमाउँदै नेपाललाई हराएको हो ।

कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए । १४ औं ओभरको चौथो बलमा रन आउट हुनुअघि उनले ३२ बलमा ६ चौका प्रहार गरे ।

कतारले ओपनर फैसल जभिदलाई दोस्रो ओभरको पहिलो बलमा १ रनमा गुमाएको थियो । उनलाई सन्दीप लामिछानेले सोमपाल कामीबाट क्याच आउट गराए । पाँचौ ओभरको पहिलो बलमा खानलाई सन्दीप लामिछानेबाट १५ बलमा समान २ चौका र छक्का सहित रनमा २२ रनमा क्याच आउट गरे ।

सन्दीपले दशौं ओभरको पाँचौ बलमा मोहम्मद तनबीरलाई ११ रनमा क्याच आउट गराए । त्यस्तै सन्दीपलेनै जाहीर इब्राहिमलाई १२ रनमा क्याच आउट गराए । तमोर शज्जाद ९ रनमा रन आउट भए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट हात पारे । करण केसीको नाममा १ विकेट रह्यो ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटियो । नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए । नोउमान सनवरले १९ ओभरको तेस्रो बलमा बोल्ड आउट गर्नुअघि दीपेन्द्रले ३५ बलमा समान १ चौका र छक्का प्रहार गरे ।

नेपालले पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई छैटौं ओभरको अन्तिम बलमा २८ रनमा गुमाएको थियो । इनवम उल हकको बलमा ठूलो सर्ट खेल्ने धुनमा क्याच आउट हुनुअघि पारसले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पारसले पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४९ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान रचे ।

कतारसँग पहिलो विकेटका गरेको ४९ रनको साझेदारी नेपालले टी २० आईमा गरेको हालसम्मको उच्च साझेदारी हो । यस अघि सन् २०१४ को विश्वकपमा हङकङसँगको खेलमा सुवास खकुरेल र सागर पुनले गरेको ३६ रनको साझेदारी पहिलो विकेटका लागि उच्च रहँदै आएको थियो ।

उप कप्तान ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । तमोर शज्जादले नवौं ओभरको दोस्रो बलमा इकवाल हुसेनबाट क्याच आउट गराउनु अघि मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे । ११ औं ओभरको पहिलो बलमा शरद भेषवकर पनि ठूलो सर्ट खेल्ने धुनमा ७ रनमा क्याच आउट हुन पुगे । १४ ओभरको पाँचौ बलमा सोमपाल कामी दुई रन लिने क्रममा ११ रनमा रन आउट भए । १८ ओभरको चौथो बलमा विनोद भण्डारी पनि ठूलो सर्ट खेल्ने धुनमा ३ रनमा आउट भए ।

करण केसी ४ रनमा बोल्ड आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । नेपाललाई सस्तैमा रोक्न कतारका लागि कतारका लागि इकवाल हुसेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ८ गते मलेसियासँग दोस्रो, साउन ११ गते कुवेतसँग तेस्रो र साउन १२ गते आयोजक सिंगापुरसँग चौथो खेल खेल्नेछ ।