इंग्ल्याण्ड पहिलो पटक विश्वकप क्रिकेट विजेता

Avatar photo
Dhadingpost
असार ३०, २०७६

अमृत तामाङ
धादिङ असार ३० ।
विश्व क्रिकेटको इतिहासमा नै असाध्यै प्रतिपर्धा भएको यस वर्षको विश्वकप क्रिकेटको उपाधी पहिलो पटक इंग्ल्याण्डले जितेको छ ।

निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउन्ड्रीका आधारमा न्यूजिल्याण्डलाई हराउँदै विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । उसका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए । २९ रनमा पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डले सम्हालेर खेलेको थियो । दोस्रो विकेटको लागि कप्तान केन र निकोलसले ७४ रनको साझेदारी गर्दै उकासेका थिए ।

जवाफमा मैदान उत्रिएको घरेलु टोलीले पनि सबै विकेट गुमाएर २४१ रन नै बनायो ।

सुपर ओभरमा इंग्ल्याण्डले पहिले ब्याटिङ गरेर १५ रन बनायो । सुपर ओभरमा इंग्ल्याण्डका लागि जस बटलर र बेन स्टोक्सले ब्याटिङ गरे । न्यूजिल्याण्डका लागि भने ट्रेन्ट बोल्टले बलिङ गरे ।

सुपर ओभरमा न्यूजिल्याडलाई जितका लागि १६ रन चाहिएको थियो । न्यूजिल्याण्डका लागि जेम्स निशाम र मार्टिन गप्टिलले ब्याटिङ गरे । जोफ्रा आर्चरले पहिलो बल वाइड फाले । त्यसपछि निशामले दुई रन लिए । त्यस्तै दोस्रो बलमा उनले छक्का हाने । तेस्रो र चौथो बलमा २–२ रन लिए । पाँचौँ बलमा निशामले एक रन लिए । अन्तिम बलमा गप्टिल रनआउट हुन पुगे र रोमाञ्चक खेल इंग्ल्याण्डले बढी बाउण्ड्री हानेका आधारमा जित्न पुग्यो ।