धादिङ असार २९ । नेपाली कांग्रेस, धादिङका पूर्व जिल्ला सदस्य एवम् सेर्तुङ निवासी राम तामाङको हृदयाघातबाट मृत्यू भएको छ ।
आईतबार बिहान मर्निङ वाकबाट काठमाडौं स्वयम्भु स्थित कोठामा फर्किएका ४० वर्षिय तामाङ, आफुलाई असहज भएको भन्दा भन्दै ढलेका थिए ।
बिहान ८ः४५ बजे हृदयघात भएका उनलाई तत्काल टिचिङ अस्पताल पुर्याईए पनि करिब १० बजे तिर अस्पतालले मृत घोषणा गरेको पारिवारिक स्रोतले बतायो ।
नेता राम तामाङको हृदयाघातले पार्टी स्तब्ध भएको भन्दै नेपाली काँग्रेस धादिङले श्रद्धान्जली व्यक्त गरेको छ ।
यस्तो छ पार्टी सभापति रमेश धमलाद्वारा जारी विज्ञप्ती
नेपाली कांग्रेस, जिल्ला कार्यसमिति,धादिङका पूर्व सदस्य राम तामाङको आज आइतबार बिहान १०:०० बजे काठमाडौमा हृदयाघात भइ ४२ वर्षको उमेरमा असामयिक निधन भएको छ । उहाँको अल्पायुमा भएको निधनले नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङ अत्यन्त मर्माहत भएको छ र गहिरो दु:ख प्रकट गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ ।
उहाँ नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङको सदस्यमा निवाचित भइ वि. सं. २०६७ देखि वि. सं. २०७२ सम्म उक्त जिम्मेवारीमा क्रियाशील रहनुभएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रुपान्तरणमा उहाँको भूमिका स्मरणीय छ । उहाँको निधनले लोकतान्त्रिक आन्दोलन, समाज रुपान्तरण र पार्टी संगठनमा अपूरणीय क्षति पुगेको छ ।
वि. सं. २०३४ माघ ७ गते सुदूर उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नं. ४, हिन्दुङ (साविक सेर्तुङ गाविस, वडा नं. ९) मा जन्मनु भएका उहाँको माता, पिता, १ दाजु , २ भाइ, श्रीमती, २ छोरी र १ छोरा छन् ।
शोकको यो घडीमा नेपाली कांग्रेस धादिङ शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछ ।
