हुनेवाला सासू आमालाई पत्र

Avatar photo
Dhadingpost
असार २८, २०७६

सञ्चै हुनुहुन्छ होला । म पनि सञ्चै छु । सम्बोधनमा सुरुमै सासू भन्दा नरिसाउनुहोला, मैले हुनेवाला भनेको छु । अँ कुरा के भने म तपाईंकि छोरीको बिषयमा केही भन्न चाहन्छु । तपाईंकि छोरी यानी कि मेरी हुनेवाली श्रीमती ।

सासू आमा,
सबैलाईराम्री श्रीमती चाहिन्छ । मलाई पनि चाहिन्छ । राम्री भन्नाले जिउडाल मिलेको, गोरी र हिस्सी भन्ने मात्रै पनि होइन । साँचो भनौं त मलाई यस्ता गोरीहरु मन पर्दैन । त्यसैले म तपाइँलाई तपाईंकि छोरी कस्तो बनाउनु पर्छ भन्ने बिषयमा नै बताउन जाँदै छु ।

तपाईंकि छोरीले धेरै पढोस् भनेर म भन्दिन तर सासू आमा जीवन के हो भनेर चाहिँ जरुर पढोस् । रवाफमा जीवन चल्दैन भन्ने कुरा बुझोस् र यो पनि बुझोस् कि संस्कारमा छोरीहरु खुबै सुन्दर लाग्छन् ।

तपाइकी छोरीलाई तपाई पासाङ ल्हामु, नाइटिङ्गेल अनि सीता र भृकुटी जस्तै बनाउनोस् पनि भन्दिन तर दुःखको बेला निडर भएर सामना गर्न सक्ने ताकत चाहिँ जरुर होस् ।

सासुआमा, तपाईंकि छोरीलाई तपाइँ पैसा कमाउन सिकाउँनुस् पनि भन्दिन म तर जब हामी संगै एउटै बसमा यात्रा गर्दै गर्छौं र ऊ अगि र म पछि पर्छु तव खलासिले भाडा माग्दै गर्दा मेरो श्रीमानसँग माग्नुस् भन्न नपरोस् । मतलब बुझ्नुभयो कि नाई ? म मेरी श्रीमती स्वाबलम्बी होस् भन्ने चाहन्छु ।

जव अभाव आउँछन् त घरमा भाँडाकुँडा खुबै ठोक्किन्छन् । अभावमा पनि मुस्कुराउन सक्ने छोरी बनाउँनुस् सासुआमा । श्रीमान् घरमा नहुँदा र आफ्नाहरुले पनि वास्तै नगर्दा अर्कै समातेर भाग्ने खालकि तपाइँकि छोरी नहोस् । जिवन साथिको दुःखमा साथ दिने श्रीमती नै सच्चा जिवन साथी हुन् ।

प्रेमको मतलब के हो पनि सिकाउनुहोस् आफ्नी छोरीलाई किनकी अहिले पनि तपाईंकि छोरीले मतलबिलाई प्रेम गरिराखेकी हुन सक्छे । तपाइकी छोरीलाई सिकाउनुस् सासुआमा कि मतलबमा कहिल्यै प्रेम हुँदैन ।

गलत साथिको संगतमा तपाइँकि छोरी छे भने निगरानी गर्नुहोला ताकी मैले बिहे पश्चात तपाइकी छोरीलाई स्वतन्त्र छोड्न सकुँ । मलाई श्रीमती माथि एकलौटी अधिकारको शासन मन पर्दैन सासू आमा ।

तपाइकी छोरीलाई चुल्हो चौको गर्न आउनै पर्छ म भन्दिन तर परेको बखत नजाने पनि गर्न तत्पर भने बनाउनुस् । मेरी आमा अलि कडै स्वभावकी हुनुहुन्छ । उहाँ जस्ती सासुलाई झेल्न कस्ती बुहारी चाहिन्छ तपाईं भलि भाँती जान्नु हुन्छ है ?

मेलापात आजकाल कसले गर्छ र सासुआमा ? तर तपाइकी छोरीलाई यति जाँगर त दिनुहोस् कि घर अगाडिको करेसाबारी बाँझै मुस्कुराउन नपरोस् । भैंसी दुहुनु, गोबर सोहोर्नु र घाँस पात गर्न जान्ने मेरी श्रीमती होस् म भन्दिन तर गर्नै परेको बखत घिन मान्ने नहोस् । हो सासुआमा, तपाइकी छोरी परिआए पहाडै उचाल्छु भन्ने हिम्मतवाली भने जरुर होस् ।

मोबाइल, कम्प्युटर आजकाल बच्चा जान्दछन् तर यसले मान्छेलाई अल्छी बनाउँदै छ । मलाई टिकटक बनाउने र सेल्फी खिच्ने श्रीमती मन पर्दैन भन्दिन तर मोबाइलमा घण्टौ झुण्डिने र फोटो खिचेर दुनियाँ चटक गर्नेवाली मलाइ मन पर्दैन । अँ तपाइँलाइ नि मन पर्दैन होला है ? यदि तपाइँकि छोरी यस्तै गर्ने छे भने दुई थप्पड लगाइदिनु, बिहे सम्म सुध्रीन्छे-म ग्यरेन्टी दिन्छु ।

अहिल्यै भनिदिन्छु- मलाई छोटा कपडा लगाउने केटि मन पर्दैन । तपाईले अधिकार माथि बन्देज र पुरुषवादी सोँच भने पनि भन्नुहोस् तर म यस्तै छु । जिन्सका कपडा मलाई मन पर्दैन । मेरी श्रीमती सारी, कुर्ता र गुन्यु चोलिमा मेरो अगाडि उभिँदा मलार्इ औधी मन पर्छ । मेरी आमालाई यस्तै बुहारी चाहिन्छ रे ।

त्यसैले सासुआमा, तपाइकी छोरीले जे लगाउँछे मलाइ केही चासो छैन तर मेरो परिवार र आफन्तको अगाडि मेरो जिवन संगिनी उभिंदा कसैको नजर नहटोस् -बस् यस्ती छोरी बनाई दिनुस् ।

यदि मैले भने झैं तपाइँकी छोरी साँच्चै यस्तै छिन् भने मेरी आमाको शिरको कसम खाएर भन्छु- तपाइँकि छोरीलाई म खुबै मायाँ गर्नेछु र दिलमा सजाएर जिवनमा रानी बनाउनेछु । जिवनको एक पल पनि उसको हात मेरो हातबाट फुत्किने छैन । आफू दुखेर पनि उसलाई हसाउँने छु । साच्चै औधी प्रेम गर्ने छु ।

उहीँ तपाइको हुनेवाला
ज्वाँई