गुठी र सहकारी: एक चर्चा

Avatar photo
Dhadingpost
असार १६, २०७६

गुठी भनेको नेपालको एउटा विशिष्ठ परम्परागत धरोहर मान्न सकिन्छ । लिच्छवीकालदेखि नै गुठीको सुरुआत भएको इतिहास छ । सेवा र लोक कल्याणका लागि सम्पत्ति दान दिएर गुठी स्थापना हुने गर्दथ्ये भने एक जना वा धेरै जनाको सम्पत्ति अरु कुनै लाभकारी बर्गका लागि पबित्र भावना र उद्देश्यबाट गुठीको स्थापना हुने प्रचलन नेपालको एउटा राम्रो प्रथा हो, मानव सभ्यताको इतिहासमा यो एउटा उल्लेखनीय धरोहर मान्न सकिन्छ ।

यसमा हुने गरेका ठगी र नराम्रा पक्षहरुलाई सुधार गरी आजको समय र अजको मानिसको चेतना अनुसार परिमार्जन गरेर गुठी प्रथालाई निरन्तरता दिनु हाम्रो जिम्मेवारी पनि हो र समयको माग पनि हो । गुठीका नाममा सरकारी तवरबाट होस वा गुठियारका नाममा जनस्तरबाट होस कुनै भ्रष्टाचार वा व्यक्तिगत स्वार्थका लागि गुठीको सम्पत्ति दूरुपयोग हुने कुरालाई रोक्नु पर्दछ ।

आजको समय अनुसार यसलाई परिमार्जन गर्न आवश्यक छ, तर के कस्तो परिमार्जन गर्नु पर्ने हो भन्ने विषयमा भने जिम्मेवारीपूर्वक विचार निर्माण गर्न जरुरी पर्दछ । धेरै मानिसहरु गुठी र सहकारीलाई उस्तै उस्तै हो समेत मान्ने गरेको पाइन्छ । कतिपयले त आजको सहकारी गुठीबाट नै विकास र परिमार्जित भएको समेत भन्ने गरेको पाइन्छ ।

नेपालमा अभ्यास गरिएको गुठी प्रथालाई परिमार्जन गरी नागरिकका स्तरबाट स्वतन्त्र रुपमा ब्यवस्थापन र उपयोग गर्ने परिपार्टीको विकास गर्ने हो भने यो सहकारी जस्तै हुन सक्ला । सहकारी गैरसरकारी क्षेत्रको गतिविधि हो भने नेपालमा राज्यको स्वामित्वमा रहेको संस्थानले गुठीहरुको व्यवस्थापनको काम गर्दछ, गुठीयारहरुको सम्पत्ति भए पनि यसमा सरकारको निर्णयक भूमिका रहेको पृष्ठभूमिमा गुठी र सहकारी उस्तै हुन भन्न कठिन छ तथापि गुठी र सहकारीमा धेरै आयाममा निकटता रहेको कुरालाई नजरअन्दाज गर्न सकिदैन ।

नागरिकहरुको स्तरबाट पनि गुठीको स्थापना हुन सक्छ । मूल उद्देश्य लोक कल्याणकारी जन कल्याणकारी भए तापनि स्थापना, नेतृत्व र सञ्चालन प्रक्रीया सहकारी र गुठीमा आधारभूत रुपमा भिन्नता रहेको देखिन्छ ।

सभ्यताको विकाससँगै मानिसले असल सामाजिक संस्कार र परिपार्टीको विकास गर्दै आयो । राम्रा कुराको अभ्यास गर्दै आयो । उपयोगी परिपार्टीहरु निरन्तर रुपमा परिमार्जित हुदै आए । आर्थिक गतिविधि र प्रविधिको विकासले मानिसको सामाजिक चरित्र पनि विकास हुदै आयो । सामाजिक सँस्कृति पनि आर्थिक गतिविधिको परिणाम हुने गरेको मानवशास्त्रको अध्ययनले बताउँछ ।

मानिसको सभ्यताको विकास हुदै आउँने क्रममा फिरन्ते जङ्गली युग, पशुपालन तथा कृषि युग, औद्योगिक युग हुदै आजको विश्वब्यापिकरणको समयसम्म सभ्यताको विकास भएको छ । सञ्चार र यातायातको विकासले आज विश्व नै एउटै गाउँ जस्तो हुन आएको छ । हवाइजहाजको भाडा सामान्य श्रमिकहरुका लागि पनि सहज रहेको कारणले आज संसार धेरैको पहुँचमा छ । अधिकांश मानिसका लागि एउटा गोलार्धबाट अर्को गोलार्धसम्म जान कठिन छैन ।

विश्वव्यापीकरण बजार प्रणाली तथा आधुनिक औद्योगिक उत्पादन प्रणालीको विकासले विश्वका सबै धनि, गरिब, आधुनिक प्रविधि उपयोग गर्ने समाज होस वा परम्परागत प्रचलनमा चलेका समाज होस सबैलाई प्रभावित पारेको छ । विश्वको मानव समुदायलाई विश्वव्यापीकरणले पारेको प्रभावलाई जिम्मेवारीपूर्ण रुपले ब्यवस्थापन तथा उपयोग गर्न नेपाल जस्ता आर्थिक रुपमा तेश्रो विश्वका मुलुकहरुका लागि नयाँ अवसरहरु पनि आएका छन् भने डरलाग्दा चुनौतीहरु पनि देखिएका छन् ।

होसियारीपूर्वक आफ्ना नीति कार्यक्रम बनाएर आफ्नै बाटोमा हिड्ने प्रयत्नमा सफल राष्ट्रहरुका लागि आधुनिक युग बरदान सरह पनि बनेको छ ।

प्राचीन सभ्यता, लामो इतिहास र समृद्ध परम्परा भएका नेपाल, भारत लगायत अन्य भू–भागहरुमा विकास भएका मानव कल्याणकारी प्रचलनहरु स्थापित भई अभ्यासमा आएका छन् । गुठी परम्परा पनि समुदायको सामाजिक आर्थिक र साँस्कृतिक आवश्यकताको परिपूर्तिका लागि उपयोगमा आएको सामाजिक कल्याणकारी अभियानका रुपमा विकास भई प्रचलनमा आएको देखिन्छ ।

कालन्तरमा राज्यले कानुनी रुपमा पनि गुठी प्रथालाई ब्यवस्थित गरेको छ । आजका दिनमा आउँदा समुदायका मानिसहरुले आप्mनो स्रोत साधनको उपयोग गरी समुदायका मानिसको आवश्यकता पुरा गर्ने अभ्यास स्थापित रहेको पाइन्छ । हाम्रो देशमा जाति, भाषा र सँस्कृतिको विविधता उहिलेदेखि नै रहेको पृष्ठभूमिमा आ–आफ्ना प्रकारका कल्याणकारी सामाजिक साँस्कृतिक परम्परा स्थापित रहेका छन् । सामान्यतः गुठी परम्परा वा यसैसँग मिल्ने खालका परम्परा सबै समुदायमा चल्दै आएका छन् ।

काठमाडौं उपत्यका र नेवार समुदायको बसोवास रहेका ठाउँमा मात्र होइन अन्य समुदायमा पनि गुठी परम्परा राम्ररी विकास भयो र यसको उपयोग हुदै आयो । सबै धार्मिक सम्प्रदायमा समुहको कल्याणका लागि राम्रा परम्परा स्थापित भएका छन् । गुठी, पर्म, बेठी, धर्मभकारी, मुठ्ठी दान, पैचो आदि हाम्रो परम्परागत रुपमा चल्दै आएका मानव कल्याणकारी प्रचलनहरु हुन ।

गौतम बुद्धले सबै मानिसलाई शान्ति र अमन चयनमा जीवन विताउन संघमा आबद्ध हुने शिक्षा दिनु भएको थियो । ‘सङघम् शरणम् गच्छामी, बुद्धम् शरणम् गच्छामी’ भन्ने बुद्धको पालामा स्थापित भएको परम्परा हालसम्म चलेको छ । सङ्घमा बस्ने भिक्षुहरु समुदायमा गृहस्त जीवन बिताउनेहरुका लागि शिक्षक, डाक्टर र ज्ञान सिकउने मानिसका रुपमा काम गर्थे ।

गृहस्त जीवनमा रहेकाहरुले उनीहरुलाई अन्न, फलफूल, मासु लगायत अन्य बस्तुहरु उपलब्ध गराउँथे । यो राम्रो र असल समाज वनाउने बुद्धको ज्ञानमा आधारित परम्परा हो । यो परम्परा आजसम्म पनि निरन्तर छ, बरु केही अपभ्रम्स भएको भन्ने कुरा विभिन्न प्रकाशनहरुमा उल्लेख भएको पाइन्छ ।

समय वित्दै आउँदा मानिसले ज्ञान, सीप, कार्यकुशलता आदि क्षेत्रमा अपार विकास ग¥यो । आजका दिनमा आइपुग्दा कम्पुटरको विकास र ईलेक्ट्रोनिक प्रविधिको विकासले मानिसले आर्टिफिसियल इन्टेलिजेन्ससम्मको विकास ग¥यो । विश्व ब्रहण्ड र प्रकृतिलाई आफ्नो बोध गम्यतामा ल्यायो ।

मानिसको चेतनाको विकास र मानिसले जीवन यापनको प्रक्रीयालाई सरल बनाउनेक्रममा आर्थिक गतिविधिमा पनि ब्यापक परिबर्तन र विकास हुदै आयो । आजको समयमा आइपुग्दा श्रम, पुँजी, प्रविधिमा पहिले कल्पना नगरिएको विकास भएको छ । प्राकृतिक स्रोतको उपयोगमा अपार सफलता मिलेको छ ।

वितरण प्रणाली, बजार प्रणाली र बैंकिङ् प्रणालीमा यस्तै उचाई आएको छ । लेखा प्रणाली र अभिलेख राख्ने प्रणाली सामन्य मानिसको कल्पनाभन्दा माथि छ । सूचना प्रविधिको ब्यापक उपयोग छ । सामान्य एउटा चिप्स(ईलेक्ट्रोनिक उपकरण)को विकासले मानिसको जीवनमा नै अकल्पिनीय उपयोगिता थपेको छ । अर्को तरिकाले भन्दा मानिसको आर्थिक क्रियाकलाप र प्रविधिको उपयोगले हरेक ब्यक्तिको जीवन पद्धतिमा सोे अनुसारको सँस्कार हुने गर्दछ ।

मानिसको सँस्कार र सँस्कृति कुनै बिश्वासका आधारमा चलेको परम्परामा आधारित हुने विश्वास गर्ने कुरालाई विकासक्रममा आएको नयाँपनसँग तादम्यता मिल्न छोडेपछि परम्परा र आधुनिकताको नाममा ठूलो अन्तरविरोध रहेको सहजै बुझिन्छ । यस्तो अन्तरविरोधपूर्ण वातावरणमा कुनै पनि मानिसले आफुलाई सफल बनाउन कठिन पर्छ, ज्ञान र आविश्कारको बाधकका रुपमा यस्तो अन्तरविरोध रहने गर्छ ।

पूर्बिय सभ्यता अफ्नै इतिहास र परम्परामा हुर्कदै आउँदा युरोप अमेरिकी भू-भागमा आर्थिक विकासको नयाँ चरणहरु देखा परे । खास गरी यरोपमा औद्योगिक क्रान्ति भयो । औद्योगिकक्रान्तिले त्यहाको परम्परागत कृषि र पशुपालन युग समाप्त भयो र नयाँ पुजीवादी युगमा समाजको विकास भयो ।

औद्योगिक क्रान्तिले ल्याएको समाजमा हुने आर्थिक शोषण, असमानता, श्रम शोषण आदि डरलाग्दा बिकृतिहरुबाट मुक्त भएको समाज निर्माणका विचारहरु विकसित हुन थाले । असल, न्यायपूर्ण र सबै मानवको समान अस्थित्व हुने न्यायपूर्ण समाजको लागि नयाँ विचारहरु अभ्युदय हुन थाले ।

सम्पत्ति हुने र नहुने बीचमा समाज विभाजित भयो । स्रोत साधनमाथिको हैकम हुने वर्ग र सर्वहारा श्रमिक वर्गमा समाज विभाजित भयो । समाज अन्याय, अत्याचार, शोषण, असमानता आदिले भरिपूर्ण रहन थाल्यो । यसै क्रममा उन्नाइसौ सताब्दीमा स्कटल्याण्डका रोबर्ट ओवेनले ‘सामुहिक उत्पादन र आवश्यकताका आधारमा उपभोग’ भन्ने विचार अधि सारे । उनलाई विश्वमा समाजवादी विचारका पिता मानिन्छ ।

औद्योगिक क्षेत्रमा संगठित श्रमिकहरुले श्रम शोषण, समानता र न्यायपूर्ण सामाजिक सुधारका लागि आन्दोलन गर्न थाले । कार्ल माक्र्स र फेड्रिक एङ्गेल्सले श्रमिक वर्गाले आफ्नो हातमा राज्यसत्ता लिएपछि मात्र समाजवादी समाज आउने भन्ने सिद्धान्त अधि सारे । रोबर्ट ओवेनको बिचारको प्रकाशमा प्रजातान्त्रिक आन्दोलन र श्रमसुधार आन्दोलनमा लागेका अगुवा श्रमिकहरुले बेलायतमा सहकारी सिद्धान्तको विकास गरे र आफ्नै जीवनकालमा सहकारीमार्फत सम्पत्तिको नाममा पाखुरा मात्र रहेका र चरम आर्थिक शोषणमा बाँच्नु परेका श्रमिक तथा उपभोक्ताहरुको जीवनमा सुधार ल्याए ।

सन् १८४४ मा बेलायतमा स्थापना भएको सहकारीको विश्यव्यापीकरण हुदै गयो र आज विश्वको सबैभन्दा जेठो र सबैभन्दा ठूलो गैरसरकारी क्षेत्रका रुपमा सहकारीको संगठन स्थापित रहेको छ ।

सहभागीहरु सबै समान हैसियतका हुने, आर्थिक प्रावधान सहितको व्यवसायिक सङ्गठनका रुपमा आधुनिक सहकारीको विकास भयो । आर्थिक गतिविधिका हरेक क्षेत्रमा सहकारीको उपयोग हुन थाल्यो । सहकारीलाई सामाजिक व्यवसाय गर्ने सँस्थाका रुपमा पनि लिने गरिन थालियो ।

समुदायका मानिसले आफ्ना सामाजिक आर्थिक र साँस्कृतिक आवश्यकता पुरा गर्नका लागि सङगठित भएरर व्यवसाय गर्ने आधुनिक सहकारी पद्धतिले जुनसुकै राष्ट्रको आर्थिक विकासमा उल्लेखनीय योगदान भयो । केही देशमा धार्मिक समूहहरुले आफुलाई साच्चैको सहकारी स्पिरिटअनुसारको काम गर्ने दावा गरि नै रहे । तर, विश्वव्यापीकरण र आधुनिक अर्थतन्त्रको विकास हुदै जाँदा आर्थिक प्रावधान, व्यवसायिक चरित्र र सहभागितामूलक क्रियाकलापको अभावमा धार्मिक समुहका लोककल्याणकारी कार्यहरु सिमित हुदै गए ।

सहकारीको विकास तिब्र हुदै आयो । आजका दिनमा आइपुग्दा सहकारी प्रकृतिको व्यवसायिक मोडलको अभावमा विश्वबाट गरिबी र अशिक्षा निर्मूल गर्न नससकिने संयुक्त राष्ट्र संघको किटानी अडान रहेको छ ।

सबै सहकार्य सहकारी होइनन् । हाम्रा गुठी, पर्म र अन्य परम्परागत सँस्कारहरु असल सहकार्यका नमुना नै हुन तर सहकारी होइनन् । सहकारीको मूल स्पिरिट र हाम्रा परम्परागत सँस्कार/अभ्यासहरुका मूल स्पिरिट उस्तै छन तथापि सहभागिता, समानता र सामाजिक न्यायका आधारमा वितरण प्रक्रिया सहकारीका सिद्धान्त हुन ।

गुठी र अन्य परम्परामा यस्ता सिद्धान्त अपनाइदैन । बरु कहि कतै कुनै अगुवा वा ठालुका हैकमबाट धार्मिक परम्परा चल्ने गरेका छन । हुन त हाम्रै देश र कतिपय अन्यदेशमा पनि सहकारीहरु यसका मर्म, भावना र सिद्धान्त अनुसार चलेका नहोलान, यो अर्कै पक्ष हो ।

सहकारीलाई सहकारी आन्दोलन भनिन्छ, यसबाट सहकारीको ब्यापकताको बोध गर्न सकिन्छ । विश्वमा कम्तिमा पनि १२ प्रतिसत मानिस सहकारीमा प्रत्यक्ष सङ्लग्न रहेका छन् । विश्वभरमा ३० लाख जति सहकारी संङ्घ संस्था रहेका छन् । विश्वभरका रोजगार मानिसहरु मध्ये १० प्रतिसत रोजगारी विश्वका ठूला ३०० वटा सहकारीले दिएका छन् । यी ३०० वटा विश्वका ठूला सहकारीहरुको बार्षिक कारोवार २.१ ट्रिलियन अमेरिकी डलर बराबर हुने गर्दछ ।

(तथ्याङ्क स्रोत: आई सी ए, ग्लोवल ३००, १९१८) । सहकारीले मानव केन्द्रित, वातावरण केन्द्रित र समुदाय केन्द्रित व्यवससाय गर्दछ । समुदायका लागि समुदायकै मानिसले नेतृत्व र स्वामित्व दिने सहकारी व्यवसाय समुदायमैत्री हुनु स्वभाविक हो । सहकारीले मूनाफाका लागि मात्र व्यवसाय गर्ने होइन कि सदस्य र समुदायका सामाजिक र साँस्कृतिक आवश्यकता पुरा गर्ने कार्य गर्दछ ।

सहकारी आफ्नो सानो सानो पुँजी सङ्कलन गरेर आफ्ना लागि आवश्यकता पुरा गर्ने कुरामा केन्द्रित हो भने गुठी कुनै धनि मानिसले सेवा वा धर्मभावले आफ्नो सम्पत्ति अरुको भलाइका लागि दिने कुरामा केन्द्रित छ ।