युवा संसद तथा नगर युवा क्लब सञ्जाल गठन

Avatar photo
Dhadingpost
असार ७, २०७६

धादिङ असार ७ । नीलकण्ठ नगरपालिकामा नगर स्तरीय नमुना युवा संसद तथा नगर युवा क्लब सञ्जाल गठन गरिएको छ ।

नीलकण्ठ नगरपालिकाको आयोजना, राष्ट्रिय युवा परिषदको सहयोगमा संचालित युवा क्लब गठन तथा युवा संसद कार्यक्रम अन्तरगत शनिबार नगर स्तरीय नमुना युवा संसद तथा नगर युवा क्लब सञ्जाल गठन गरीएको हो ।

नीलकण्ठ नगरपालिकाका शिक्षा अधिकृत केदार प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको नगर स्तरीय सञ्जाल गठन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतित्थ्य रहेको थियो । कार्यक्रममा ३ नं प्रदेश युवा संसदका युवा सांसद सम्झना भण्डारीको आतित्थ्यता रहेको थियो ।

शुक्रबारदेखी संचालित रहेको कार्यक्रममा ३ नं प्रदेश युवा संसदका युवा सांसद एवं कार्यक्रम संयोजक रोशन कोइरालाले सहजीकरण गर्नुभएका थियो भने कार्यक्रममा नगरपालिकाको १४ वटा वडाका दुई, दुई जना प्रतिनिधिहरुले देशको संसदीय प्रकियाको अभ्यास गरेका थिए । संसद अभ्यास कार्यक्रममा राष्ट्रपतिको भूमिकामा कल्पना श्रेष्ठ, सभामुखको भूमिकामा विनोद रिजाल र प्रधानमन्त्रीको भूमिकामा गणेश पाठकले निर्वाह गरेका थिए ।

यसैगरी कार्यक्रमको अवसरमा नगर स्तरीय युवा क्लब सञ्जालको पनि गठन गरिएको छ । ११ सदस्य कार्यसमिति रहेको सञ्जालको अध्यक्षमा रोशन कोइराला, उपाध्यक्षमा रमेश गुरुङ, सचिवमा कल्पना श्रेष्ठ र कोषाध्यक्ष अभिषेक शाह निर्वाचित भएका छन् ।

नगरपालिकाभित्र युवा सम्बन्धी विभिन्न कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्नको लागी यस युवा क्लब सञ्जाल गठन गरिएको सञ्जालका अध्यक्ष रोशन कोइरालाले जानकारी दिए ।