
धादिङ असार २ । प्रदेश ३ को आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत भएको छ ।
४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आईतबार प्रस्तुत गरेका हुन् । बजेटको चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख अर्थात ५१ दशमलव ३९ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ २२ अर्ब ८३ करोड ९८ लाख अर्थात ४७ दशमलव ९८ प्रतिशत रहेको छ ।
यस्तै प्रदेशको वित्तिय व्यवस्था तर्फ ३० करोड रुपैयाँ विनियोजन भएको छ । बजेटको खर्चका लागि राजश्वतर्फ १५ अर्ब ४९ करोड ४९ लाख अन्तरसरकारी अनुदान तर्फ १८ अर्ब ६ करोड १३ लाख, अन्य राजश्व तर्फ ७ अर्ब ३० करोड र राजश्व बचत तर्फ ६ अर्ब ७५ करोड १६ लाख अनुमानित गरिएको बजेट वक्तव्यमा उल्लेख रहेको छ ।
बजेटमा सार्वजनिक नीजी साझेदारीका माध्यमबाट इलेक्ट्रिक मास ट्रान्जिट प्रणाली सञ्चालन गर्नको लागि अनुदान दिने भएको छ । यस्तै ४ वर्षभित्र प्रदेशको सबै स्थानीय तहको केन्द्रसम्म बाह्रै महिना सञ्चालन हुने सडक निर्माण गर्ने वक्तव्यमा भनिएको छ। प्रदेश गौरवको योजनाहरुमा भने गत वर्षकैलाई निरन्तरता दिएको देखिएको छ ।
यस्तै सामाजिक क्षेत्रका लागि गत वर्ष लोकप्रिय बनेको मुख्यमन्त्री जनता परीक्षण, एक विद्यालय एक नर्स जस्ता कार्यक्रमलाई यो वर्षको बजेटले समावेश गरेका छ। यस्तै एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्रामको लागि बजेट छुटट्याएको वक्तव्यमा उल्लेख रहेको छ ।

