आज इद उल फित्र पर्व, सार्वजनिक बिदा

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७६

धादिङ जेष्ठ २२ । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउन सुरु गरेका छन्  । अरबी पात्रो अनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।

आज नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरि ठूलाबडा कहाँ आशीर्वाद लिने क्रम शुरु भएको छ ।

घण्टाघरमै रहेको काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ । पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’मा उल्लेख छ ।

यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । सोे दान पनि गरीबलाई नै दिइन्छ ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

सरकारले मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को जेठ १० गते बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णय गरेको थियो ।