दुई झाँक्री मारेको आरोपमा २६ जनालाई कैद सजाय

Avatar photo
Dhadingpost
जेष्ठ ९, २०७६

धादिङ जेष्ठ ९ । उत्तरी धादिङको गङ्गाजमुना–२ लताबमा २०७५ साउन ५ गते स्थानीयवासीको कुटपिटका कारण ४५ वर्षीय साँइला भन्ने प्लेक तामाङ र ६५ वर्षीय नरुङ तामाङको मृत्यु भए सँगै धादिङ जिल्ला अदालतले २६ जनालाई कैद सजायको फैसला गरेको छ ।

गाउँमा टुनामुना लगाएर गाउँका ६ जना जतिको ज्यान लिएको भन्दै स्थानीय वासिन्दाहरुले दुई झाँक्रीको हत्या गरी प्रमाण नष्ट गर्न दाहसंस्कार समेत गरेका थिए । उनीहरु विरुद्ध धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार उनीहरूलाई कैद सजाय सुनाएको हो ।

कैद सजाय पाउनेमा ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङलाई जन्मकैदको फैसाल सुनाएको छ । मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम जन्म कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताए।

यसै गरी घटनामा संलग्न ३८ वर्षीय शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई पाँच वर्ष ६ महिना कैद फैसला सजाय सुनाएको छ । १७ वर्षीय वुद्धिलाल तामाङ, १७ वर्षीय निरज तामाङ, १७ वर्षीय चन्द्रान तामाङ बालक भएकोले पाँच वर्ष कैद हुनेमा दुई तिहाइ अर्थात तीन वर्ष आठ महिना कैद गर्ने फैसला गरिएको छ ।

स्थानीय कटुवाल ५६ वर्षीय बलबहादुर तामाङलाई मतियारको रूपमा गाउलेहरुलाई भेला गराई झाँक्रीहरु मार्नका लागि सहयोग पुर्‍याएकाले तीन वर्ष ६ महिना कैद तोकिएको छ ।

साधारण तारेखमा रहेका सुशीना तामाङ, असारमायाातामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई घटनामा निर्दोष रहेको भन्दै सफाइ दिइएको छ । चार महिला साधारण तारेखमा रिहा भएका थिए भने बाकी २६ जना पुर्पक्षका लागि थुनामा थिए ।