कुकुर किन पल्ने ? हृदयाघात हुने सम्भावना कम

Avatar photo
Dhadingpost
बैशाख २७, २०७६

धादिङ बैशाख २७ । घरकोे सुरक्षा, अपराधिक गतिविधि पत्ता लगाउन र मनोरञ्जनको लागि कुकुर पल्ने गरेको पाईन्छ ।

गाउँघरतिर अहिले पनि सुरक्षाका लागि कुकुर पाल्ने गरिन्छ । शहरमा भने सुरक्षा र बढी सोखले कुकुर पाल्ने चलन बढ्दो छ । केहि बर्ष देखि कुकुरको व्यापार गर्दै आएका धादिङका प्रकाश लुईटेल नेपालमा सुरक्षासँगै सोखका लागि कुकुर पाल्ने गरेको बताउँछन् ।

उनी भन्छन्, “कुकुर २४ सै घन्टा घरमा हुने हुँदा मान्छे घरमा आएपछि उसको भुक्ने शैलीले आफन्त वा चोर आएको हो भन्ने सजिलै थाहा पाउन सकिन्छ, त्यसैले धेरैले सुरक्षागार्डको सट्टा कुकुर पाल्ने गरेका छन् ।” अन्य घरपालुवा जनावरभन्दा मानिससँग खेल्ने भएकाले पनि मानिस कुकुर पाल्न बढी रुचाउँछन् ।

एभरेस्ट केनलका संचालक प्रकाशले काठमाडौको ढुङ्गे अड्डामा कुकुर र कुकुरलाई आवश्यक औषधी तथा खाद्य सामाग्रकी सुपथ मुल्य व्यापार गर्दै आएका छन् ।

उनी भन्छन्, कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउने मानिसमा तनाव घट्न गई खुसी बढ्ने हुन्छ । कुकरसँग खेल्नाले मानिसको मस्तिष्कमा खुशी र आनन्दसँग सम्बन्धित डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ । यसले मानिसमा रहेको निराशा हटाउँन मद्दत गर्छ ।

अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले कुकुर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ। उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो ।

यो अध्यन ३४ लाख मानिसहरुमा गरिएको हो । ती मध्ये ४० देखि ८० वर्षसम्म कुकुर पालेका व्यक्तिहरु अध्यनको क्रममा जोडिएका थिए । यसबाट अनुसन्धान गर्दै जाँदा कुकुर पाल्ने मानिसहरुलाई हृदय रोगको खतरा कम रहेको देखिएको हो ।

कुकुरका कारण उनीहरुको मालिकको माइक्रोबायोममा पनि परिवर्तन आउने गर्छ । जसले हृदय रोगको खतरालाई कम गर्न मदत पुराउछ । घरपालुवा जनावरमा हुने सूक्ष्म जनावरहरुलाई सामूहिक रुपमा माइक्रोबायोम भन्ने गरिन्छ ।

ब्रिटिश हार्ट फाउण्डेशनका डाक्टर माइक नैपटनका भन्छन् ‘तर कुकुर पाल्ने मानिसहरु यो कुरालाई नकार्न सक्दैनन् की कुकुर पाल्नाको मुख्य कारण उनीहरुसँग हुने रामाइलो हो । तपाई चाहे कुकुर पाल्नुहोस् या नपाल्नुहोस, तर, यदी तपाई एक्टिभ रहनुहुने गर्छ भने आफुलाई स्वास्थ्य राख्नको लागी कुकुर निकै उपयोगी जिव हुन् ।’

कुकुरको बिक्री

नेपालमा एउटा कुकुर सस्तोमा ५ हजार रुपैयाँदेखी महङ्गोमा १० लाख रुपैयाँसम्म पर्छ । नेपालमा उपलब्ध हुने कुकुर मध्येमा जापनिज किड्स नामक कुकुर निकै छ । सो कुकुरको मूल्य जम्मा ५ हजार रुपैयाँ पर्ने गरेको छ । आर्थिक हैसियत कम भएका, तर राम्रो प्रजातीको कुकुर पाल्न चाहने ग्राहकले यस्ता कुकुर लाने गरेको पाइन्छ ।

सर्वसाधारणले १५ देखि ५० हजारसम्मका कुकुर बढी पाल्ने गर्छन् । व्यवसायीका अनुसार नेपालमा सामान्यतया कुकुरको मूल्य पाँच हजारदेखि दुई लाखसम्म पर्छ । एक दुई घरमा भने भोटे जातको १० लाख पर्ने कुकुर पालेको पाइन्छ । बुलडगलाई दुई लाख, साइबेरिया हस्की, नेपोलियन म्यास्ट्रिफ र अमेरिकन बुलीलाई एक लाख तथा सेन्ट बर्नाट, कट् वारडा, ग्रेड डेन र पोमोरियन जातका कुकुरको ५० हजार पर्छ ।

सबभन्दा बढी बिक्री हुने जर्मन सेफर्ड १५ देखि २० हजार र जापानिज स्पिजको मूल्य पाँच हजार पर्छ । कुकुरलाई बिहान बिस्कुट त्यसपछि खानामा अनिवार्य मासु र डगफुड खुवाइन्छ ।