
धादिङ बैशाख २४ । फोरम र नयाँ शक्तिबीच एकता पछि डाक्टर बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउने अभियानमा पार्टी एकीकरण गरेर अर्को नयाँ छलाङ मारिएको प्रतिक्रिया दिएका छन् ।
सोमबार राजधानीमा आयोजित संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले देशलाई समृद्ध बनाउनका लागि अर्को नयाँ छलाङ मारेका छौँ। हामीले सही अर्थमा देशलाई एकीकृत गर्ने काम गरेका छौं । दुई दलको बीचमा एकीकरण मात्र भएको छैन यहाँ राष्ट्रिय एकीकरण भएको छ ।’
सत्तारुढ दल नेकपाप्रति आक्रामक रुपमा प्रस्तुत भएका भट्टराईले नेकपा कम्यूनिष्ट पार्टी नभएर कमाउवादी कम्यूनिष्ट पार्टी भएको दाबी गरे ।
कीकृत पार्टीले सैद्धान्तिक वैचारिक मान्यताको आधारमा राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, वालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थालगायतका मूल्य र मान्यताहरु आत्मसात गर्ने भएको छ ।
यस्तै दुई पार्टी संघीय राज्य बनाउन प्रतिवद्ध रहेको र त्यसका लागि संविधानसभाद्वारा गठीत उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरुको रचना गर्नुपर्नेमा जोड दिइएको छ ।
एकीकरणको घोषणासँगै फोरम र नयाँ शक्तिदुबै विधिवत रुपमा विघटन भएको छ । नयाँ पार्टी समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गरिने छ ।

