नेता मोहन कार्कीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

Avatar photo
Dhadingpost
बैशाख १६, २०७६

धादिङ बैशाख १६ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जिवन्तको स्वस्थ्य स्थिति गम्भिर भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रहरी हिरासतमा बन्दी बनाइएका नेता कार्की ‘जीवन्त’ लाई भेट्न पुगेका आफन्त सँग बन्दीले पाउने सामान्य उपचार सुविधासमेत राज्यले आफूलाई नदिएकोले आफ्नो स्वस्थ्य जटिल बन्दै गएको बताएका थिए ।

उनको स्वास्थ्य अवस्थाबारे गम्भीर बन्न मानवअधिकार आयोग, नागरिक समाज तथा संचारमाध्यमसँग नेता जीवन्तका परिवारले आग्रह गरेको छन् ।

सर्वोच्च अदालतको आदेशमा रिहालगत्तै चैत्र २४ गते आइतबार सर्वोच्च अदालत गेटबाटै गिरफ्तार भएका पार्टीका पोलिट ब्यूरो सदस्य (पीबीएम) रहेका नेता जीवन्त सुगर र मृगौला रोगबाट गम्भीर पीडित हुन् । उनले त्यससम्बन्धी दैनिक रुपमा कडा मात्रामा औषधि खाइरहेका छन् ।

पुनः गिरफ्तारपछि संगठित अपराध अभियोगमा अनुसन्धानका लागि भन्दै हाल संखुवासभा जिल्ला प्रहरी हिरासतमा राखिएका उनलाई स्वास्थ्य परिक्षण गराउने त कता हो कता, नियमित औषधि टुट्दा समेत बेवास्ता गरेको उनका परिवारका सदस्ये बताएका छन् ।