
तनहुँ बैशाख ११ । तनहुँ स्थित बन्दीपुर गाउँपालिकाको कार्यपालिकाको बैठक गुफा भित्र सम्पन्न भएको छ ।
दक्षिण एशियाकै ठूलो दाबी गरिएको विमलनगर स्थित सिद्धगुफा गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न भएको हो ।
पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्धगुफाभित्र बैठक सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनले भने, ‘सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित कार्यपालिकाको बैठक नै गुफाभित्र गरेका हौं ।’
पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्दछ ।
वि.सं. २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लगाएको थियो ।

