आज चैते दशैं मनाईदैं

Avatar photo
Dhadingpost
चैत्र ३०, २०७५

धादिङ चैत्र ३० । हिन्दु धर्मावलम्बिले आज चैते दशैं पर्व हर्षोल्लास पूर्वक मनाई रहेका छन् । । चैत शुक्ल अष्टमीका दिन शक्ति स्वरुपा देवी भगवतीको पूजा अर्चना गर्दै चैते दशैँ मनाउने परम्परा रही आएको छ ।

शरद ऋतुमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । यसैबीच आजै रामनवमी पर्व पनि मनाईदै छ ।

आज दुर्गा भवानीका मन्दिरमा पूजापाठको साथ पशुबलि समेत चढाउने चलन छ । असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको जन्मोत्सवको रुपमा रामनवमी पर्व मनाउने गरिन्छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन एवं विशेष पूजा आरोधना गर्ने गरिन्छ ।

रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवं आराधना गरेमा सुख समृद्धि प्राप्त हुने शास्त्रीय मान्यता छ । आफ्नो सुखको पछि नलाग्ने, मान्यजनको आदेश शिरोपर गर्ने, तथा कर्तव्य निर्वाहका लागि कुनै सम्झौता नगर्नेजस्ता थुप्रै आदर्श गुण भएकै कारण श्रीराम लाई पुज्ने परम्परा रहेको जनविश्वास रहीआएको छ ।

पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारीएको मान्यता छ । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ भने भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ ।