धादिङ बोर्डिङद्वारा अभिभावक अभिमुखीकरण

Avatar photo
Dhadingpost
चैत्र १५, २०७५

सञ्जय देवकोटा,
धादिङ, चैत्र १५ ।
धादिङ आवासीय माध्यमिक विद्यालयले आज अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

आफ्ना बालबच्चालाई कसरी पढाईप्रति ध्यान केन्द्रित गराउने, बालबालिकालाई असल व्यवहार तथा नैतिक शिक्षा प्रदान गर्न अभिभावक विद्यार्थी र शिक्षकको कस्तो भुमिका रहन्छ, शिक्षालाई आधुनिक र व्यवहारिक रुपमा कसरी परिमार्जित गर्ने भन्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त मनोवैज्ञानिक तथा अभिभावक प्रशिक्षक रमेश पराजुलीले अभिभावकहरुलाई प्रशिक्षित गराएका थिए ।

धादिङ बोर्डिङका संस्थापक सदस्य राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक रमेश पराजुली, गणेश हिमाल क्याम्पसका निर्देशक एवं विद्यालय सञ्चालक समिति सदस्य भुपेन्द्र कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं विद्यालय सञ्चालक समिति सदस्य गोविन्द कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पसका प्रमुख एवं विद्यालय सञ्चालक समिति सदस्य ईश्वरी प्रसाद पाण्डे, प्रधानाध्यापक हरि लम्साल, विद्यालयका शिक्षक लगायत करिब १ सय भन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयको प्रगति बारे बताउँदै प्रिन्सिपल हरि लम्सालले प्रवेशिका परीक्षामा नेपालभरिका संस्थागत विद्यालयतर्फ सातौँ स्थानमा पर्न सफल धादिङ आवासीय माध्यमिक विद्यालयले हरेक वर्षको एसईई परीक्षामा जिल्लाकै नम्बर एक बन्न सफल भएको बताउदै पढाइका अतिरिक्त भाषा कक्षा, नृत्य कक्षा, प्राविधिक सिपसँग सम्बन्धित कक्षाहरु, व्यवहारिक तथा कृषि सिपसँग सम्बन्धित कक्षाहरु आगामी शैक्षिक सत्रहरुमा सञ्चालन गरी सबै हिसाबले जिल्लाको मात्र नभइ राष्ट्रकै नमुना विद्यालय उन्मुख रहेको बताएका थिए ।