सुशासन, समृद्धि र सदाचारतर्फ नीलकण्ठ

Avatar photo
Dhadingpost
चैत्र १५, २०७५

कृष्णहरि बास्कोटा

यस पालिकाका मेयर भीम ढुंगाना साबिकको गाउँपालिका महासंघको नेतृत्वमा हुनुहुन्थ्यो । हाल उहाँ नगरपालिका संघको महासचिव जस्तो गरिमामय नेतृत्वमा हुनुहुन्छ । यसरी वर्तमान नीलकण्ठ पालिकाका मेयर स्थानीय तहको नेतृत्वमा रहेको परिचित नाम पनि हो ।

धादिङ जिल्लाको सदरमुकामका रूपमा रहेको नीलकण्ठ नगरपालिका सुशासन, सम्वृद्धि र सदाचारका कार्य सम्पादनमा छुट्टै पहिचान निर्माण गर्न सफल हुदै गएको छ । नीलकण्ठ, सांकोष, सुनौला बजार, मुरली भन्ज्याङ ज्यामरुंग, खाल्डे र धुवाँकोट मिलेर निर्माण भएको नीलकण्ठ नगरपालिका धादिङ जिल्लाका १३ वटा पालिकामध्ये विभिन्न दृष्टिकोणले ठूलो पालिका हो । यो पालिका १४ वडा छन् ।

धार्मिक कथाअनुसार भगवान शिवले विष सेवन गरी कण्ठमा राख्नु भएकाले नीलकण्ठ भनिएको भन्ने मान्यता छ । साथै थोपल खोला नजिक रहेको ठाडादेवी मन्दिरलाई नीलकण्ठ वनाइएको इतिहास छ । नीलकण्ठ नगर पालिकाका मेयर भीम ढुंगानाले यस पंक्तीकारलाई ०७४ असारमा अन्तक्र्रियाका लागि आमन्त्रण गर्नु भएको थियो । यस अतिरिक्त ०७५ फागुनमा जिल्ला समन्वय समिति धादिंगले जिल्लाभरिका सबै पालिकालाई आमन्त्रण गरी यस पंक्तिकारलाई प्रशिक्षण दिन लगाएको थियो ।

नीलकण्ठ नगरपालिकाले ६३ बुँदे नागरिक बडापत्र जारी गरेको छ । यस बडापत्रमा संविधानको अनुसूचीमा रहेको स्थानीय तहको अधिकार क्षेत्र भित्र रही पालिकाले गर्नुपर्ने सबै कामहरू समेटिएको छ । चालू आर्थिक वर्षका लागि रु. ९१ करोड ६९ लाख २० हजारको बजेट जारी गरेको यस पालिकाले स्मार्ट सिटीको पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ ।

यसै अनुरूप नीलकण्ठ पालिकाका पाईला अघि बढिरहेको अनुभुति हुन्छ । यस पालिकाले आफ्नो वजेटमार्फत आम जनतामा गुणस्तरीय पिउने पानी उपलव्ध गराउने लक्ष्य लिएको छ । यसैगरी, सरसफाइमा पनि आफू उम्दा ठहरिने ध्येय नीलकण्ठ पालिकाले लिएको छ । यस अतिरिक्त नागरिकमा स्वास्थ्य सेवा प्रवाह गर्न पनि यो पालिका प्रतिबद्ध छ ।

नीलकण्ठ नगरपालिकाले आफ्नो पालिकाभित्र उद्यमशीलताको विकास गर्ने लक्ष्य लिएको छ । यसका लागि मेरो उद्यमशील कार्यक्रम सञ्चालनमा रहेको छ । यसैगरी पर्यटन प्रवद्र्धनमा पनि नीलकण्ठ पालिका अग्रसर छ । साथै, हरियाली विकास गर्ने पनि पालिकाको भिजन रहेको छ । यो पालिका आफूभित्र आर्थिक समृद्धिका लागि कसरी आन्तरिक र बाह्य लगानी बृद्धि गर्न सकिन्छ भनी चिन्तित रहेको पाइन्छ । यसका निमित्त जतिसक्दो छिटो यस पालिकाले लगानी सम्मेलनको आयोजना गर्नुपर्छ ।

काठमाडौंबाट करिब दुई घण्टाको मोटर बाटोबाट पुग्न सकिने यस पालिकाले मुलुककै प्रतिष्ठित विज्ञ र लगानीकर्तालाई सहजै आफ्नो पालिकामा आमन्त्रण गरी पु¥याउन सक्तछ । धादिङ हरियो तरकारी, अदुवा, उखु, फलफूल ¥याफटिङ, खसी, खाद्यान्न उत्पादनलगायत कैयौँ कुरामा मुलुककै उत्कृष्ट जिल्लामा पर्दछ ।

काठमाडौं प्रबेश गर्ने पृथ्वी राजमार्गको अधिकांश भाग धादिङ जिल्लामा पर्ने भएकाले पनि यस जिल्लामा खाद्यान्नलगायत गोदाम निर्माणको सम्भावना छ । खेल मैदानको सम्भावना पनि यस जिल्लामा उत्तिकै प्रबल छ । काठमाडौं आउने विदेशी पर्यटकलाई पदयात्रा गराउन सकिने सम्भावना छ । सहकारी क्षेत्रले एउटा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन भएको छ । करिव १२०० मे. वा. को बुढी गण्डकी जलविद्युत आयोजना लगायत धादिङ जिल्लाको आर्थिक समृद्धिमा अनगिन्ती सम्भावना रहेको छ ।

नीलकण्ठ नगरपालिकाले खुद्रे योजनाको सट्टा अनुभूत हुने योजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ । यस अनुरूप नगरगौरवका योजना घोषणा भएका छन । यसमध्ये थोपलखोला जलविद्युत् योजना निर्माणको चरणमा रहेको छ । साथै यस पालिकाले सडक सोलार बत्तीको योजना अघि वढाएको छ । यस अतिरिक्त फ्रि वाईफाई सेवा विस्तार गर्ने, नगरलाई हरियालीमा रूपान्तरित गर्ने र पार्कहरू निर्माण गरी नगरलाई ब्यूटीफिकेसन गर्ने काममा पनि नीलकण्ठ नगरपालिका जुटेको छ ।

यस अभियानमा नगरभित्र सिसी क्यामरा जडान गरी सुरक्षाको प्रत्याभूति दिन पनि पालिका क्रियाशील रहेको पाईन्छ । चालु आ. ब. ०७५-७६ का लागि यस पालिकाले थुप्रै महत्वकांक्षी योजना-कार्यक्रमहरू अघि सारेको छ । यसमा विशेषगरी सडक निर्माण, खेल मैदान, खानेपानी र वडा साझेदारी कार्यक्रम प्रमुख छन् । साथै शौचालय निर्माण, एम्बुलेन्स सेवा सञ्चालन, सिँचाइ र चौतारो निर्माणले पनि प्राथमिकता पाएको छ । यसैगरी, पर्यटन प्रवद्र्धन मन्दिर निर्माण, स्कूल कम्पाउन्ड निर्माण र स्वास्थ्य चौकी निर्माणमा पनि यस पालिकाले आफ्नो बार्षिक बजेट केन्द्रित गरेको छ ।

मेयर उद्यमशीलता विकास कार्यक्रममार्फत नीलकण्ठ नगरपालिका स्वरोजगार र उद्यमशीलतातर्फ आफ्ना युवालाई परिचालन गर्दैछ । यस पालिकाले अनलाइन घटना दर्ता प्रक्रिया आरम्भ गरेको छ । यसबाट अझ नगरपालिकामा व्यक्तिगत घटना अर्थात् जन्म, मृत्युविवरण दर्ता जस्ता प्रक्रियामा रहेको झण्झट हटेको छ । यस पालिकाले विद्युतीय गुनासो कक्ष खडा गरेको छ । जो अन्य पालिकाका लागि अनुशरणयोग्य हुन सक्तछ । नीलकण्ठ नगरपालिकाको वेवसाइट पनि उत्कृष्ट रहेको छ ।

मोवाईल एपमार्फत पालिकाका योजना लगायतका सबै विवरण हेर्न मिल्ने अवस्था छ । यसपालिकाले आफ्नो अनुगमन प्रणालीलाई पनि चुस्त र दुरुस्त तुल्याएको छ । कृषि उत्पादनको लागि नामूद स्थानहरू रहेको नीलकण्ठ नगरपालिका कृषि व्यवसायीकरणमा पनि जुटेको छ । अर्को कुरा, गुणस्तरीय शिक्षामा पनि यो पालिका विशेष दत्तचित्त रहेको छ । आफ्नो क्षेत्रभित्र रहेको अस्पतालको सुसञ्चालनमा पनि नीलकण्ठ पालिकाले ध्यान दिएको छ ।

लघु उद्यम सीपको प्रयोगद्वारा स्थानीय कच्चा पदार्थको उपयोग गर्ने यस पालिकाको ध्येय रहेको छ । साथै यो पालिका उपभोक्ता हितका पक्षमा पनि रहेको छ । यस अनुरूप नियमित बजार अनुगमन गरी गुणस्तरीय वस्तु र सेवाको उपभोग गर्न पाउने नगरवासीको अधिकारको संरक्षण गर्नुपर्छ । साथै सबै बिक्री स्थलमा मुल्यसूची अनिवार्य गर्नुपर्छ । कुनै पनि हालतमा म्याद गुज्रिएका, गुणस्तरहीन र नक्कली वस्तु र सेवाको कारोबार हुन दिनु हुँदैन । यसैगरी, आम जनताको दैनिक जीवनको मागलाई विचार गरी आपूर्ति व्यवस्थालाई सहज तुल्याई कालोबजारी हुन नदिनेतर्फ पालिका सजग हुनुपर्छ ।

यसैगरी पालिकाभित्रको कला, संस्कृति र पुरातात्विक वस्तु र स्थानको संरक्षण, सम्वद्र्धन र जीर्णोद्धार गर्नुपर्छ भन्ने यस पालिकालाई बोध छ । स्वस्थ तनः स्वस्थ मनको नारासहित नीलकण्ठ पालिका युवाहरूको लागि खेलकूदको विकासमा प्रयत्नशील छ । यस अतिरिक्त विपद्व्यवस्थापनमा पनि पालिका जुटेको छ । मेरो नीलकण्ठ मेरो मोबाईल कार्यक्रमवाट पनि नगरवासीको ध्यान खिच्न नीलकण्ठ नगरपालिका सफल छ । यस पालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत प्रदान गर्दै आएको छ ।

नीलकण्ठ नगरपालिकाले फ्री डेलिभरी सेवा प्रबाह गरेको छ । यसअन्तर्गत कुनै पनि महिलाले प्रसुतीका बखत एम्बुलेन्सबाट जहाँसुकै जान परे पनि पालिकाले खर्च व्यहोर्ने प्रबन्ध मिलाएको छ । आर्थिक सुशासनतर्फ यस पालिकाले ९७.८२ प्रतिशत बेरुजू फस्र्योट गरी पालिकामध्ये संभवतः सर्वोत्कृट भएको छ । कृषकको हितका लागि बाली, पशु र पंक्षी ३ वटैको बिमामा ८५ प्रतिशत अनुदान दिएको छ । यत्तिसम्म कि यस पालिकाका मेयरले बिहान कुनै भैसी मरेर पीडित किसान दिउसो पालिकामा आएमा तुरुन्त बिमाको रकम प्राप्त गरी साँझ अर्को भैँसी किनेर घर पु¥याउन सक्ने चुस्तता कायम गरिएको सार्वजनिक अभिव्यक्ति दिनु भएको छ । अबको एक वर्षभित्र १०० किमिको रिंगरोड तयार हुने पालिकाको लक्ष्य छ ।

यस पालिकाले नगरको मुहार फेर्न सन् ०८५ सम्मको मास्टर प्लान अर्थात् दीर्धकालीन सोच निर्माण गरी लागू गरेको छ । यस पालिकाले सबै वडामा इन्टरनेट सेवा विस्तार गरेको छ । यस पालिकाले खुल्ला सरकार साझेदारीको अबधारणमा काम गरिरहेको छ, जो अन्य पालिकाहरूका लागि अनुकरणीय छ । साथै यस पालिकाले नीलकण्ठ एफएमको सहकार्यमा जनतासँग मेयर कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

नीलकण्ठ नगरपालिकाको भू–भाग ठूलो छ । जिल्ला सदरमुकाम रहेको बजार क्षेत्रमा सडक भए पनि सबै १४ वडामा बाह्रै महिना चल्न सक्ने सडकको अभाव छ । काठमाडौं, चितवन, कास्कीजस्ता स्थानबाट नजिकमा रहेकाले यस पालिकामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने पर्याप्त सम्भावना छ । यसर्थ, पालिकाले ठाँउ ठाँउमा पार्क, मनोरन्जन स्थल, वन बाटिका लगायतका पर्यटकीय स्थलको विकास गर्न जरुरी छ ।

यस्का लागि नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीसँग सहकार्य गर्नुपर्छ । अर्को कुरा, धादिंगवेसीमा मानविकी विषयका पढाइ हुने उच्च मावि र क्याम्पस मात्रै छन् । यसर्थ, प्राविधिक- व्यावसायिक विषयको अध्ययन-अध्यापन हुने क्याम्पस स्थापनामा पालिकाले पहल गर्नुपर्छ । यस पालिकाले जिल्ला समन्वय समिति, प्रदेश सरकार र संघ सरकारबाट पनि विशेष कार्यक्रम-अनुदान प्राप्त गर्न सक्दछ । यसका लागि विशेष समन्वय-साझेदारीमा काम गर्नुपर्छ ।

मुख्यकुरा, यस पालिकाले नेपाल भरिका ७ सय ५३ ओटा पालिका मध्ये आफ्नो बिशेष पहिचान निर्माणको पहल गर्नुपर्छ । यसका लागि सानो जस्तो देखिने बजार व्यवस्थापन, फुटपाथको व्यवस्थापन, ढलको सफाइ, दिगो विकास र आम नागरिकको समृद्धिको लागि बचत गर्न बानीको विकासमा जोड दिनुपर्छ ।

अन्त्यमा, नीलकण्ठ नगरपालिकाले कम्तीमा खाद्यान्न, हरियो तरकारी, फलफूल, माछा मासु र दुग्धजन्य पदार्थमा आफ्नो उत्पादनसहित आत्मनिर्भर रहेको घोषणा गर्नुपर्छ । फोहोरमैलाको व्यवस्थापन सहित ल्याण्डफिल्ड साइटको सञ्चालन गर्नुपर्छ । बजार क्षेत्रमा सार्वजनिक शौचालय, पिउने पानीको व्यवस्था र साइबर सेन्टर स्थापना गर्नुपर्छ । यस पालिकाका सबै वडामा खुल्लाक्षेत्र, पार्क, पुस्तकालय-वाचनालय हुनुपर्छ । पालिकाले आधुनिक सभाहल निर्माण गर्ने, पशु वधशालाको प्रयोग अनिवार्य गर्ने र शव दाहस्थल व्यवस्थित गर्नेसम्मको काम गर्नुपर्छ ।
यसैगरी वृद्धाश्रम, म्युजियम-संग्रहालय, चिडियाखाना निर्माण गर्नुपर्छ । स्थानीय उत्पादन बिक्री गर्ने कोशेली घर, सुपथ मूल्यका पसल र औद्योगिक क्षेत्र स्थापनाको पहल गर्नुपर्छ । यसैगरी, आमनागरिकको स्वास्थ्य बिमा गर्ने र सामुदायिक भवन निर्माणको पहल पनि गर्नुपर्छ । सहकारी-सामूहिक खेती, महिला विकास, मलखाद, बिउबिजन सहितको कृषि र प्राविधिक सेवा प्रवाह गर्न पनि पालिका अग्रसर हुनुपर्छ । यस पालिकाका मेयर भीम ढुंगाना साबिकको गाउँपालिका महासंघको नेतृत्वमा हुनुहुन्थ्यो ।

हाल उहाँ नगरपालिका संघको महासचिवजस्तो गरिमामय नेतृत्वमा हुनुहुन्छ । यसरी वर्तमान नीलकण्ठ पालिकाका मेयर स्थानीय तहको नेतृत्वमा रहेको परिचित नाम पनि हो । यसै अनुरूप नीलकण्ठ नगरपालिका पनि मुलकभरि चिनिनका लागि गर्नु पर्ने कुनै पनि पहल गर्न यो पालिका चुक्नु. हुँदैन भन्ने यस पंक्तिकारको भनाइ छ ।

नीलकण्ठले गरेका काम तत्कालै जिल्लका अन्य पालिकाका लागि अनुशरण योग्य हुनुपर्छ । साथै यस पालिकाले पनि अन्य पालिकाको असल अभ्यासको अनुशरण गर्न लाज मान्नु हुँदैन । यसै पंक्तीकारले धुनिबेसी नगरपालिका, थाक्रे, गजुरी र गल्छी गाउँपालिकामा पनि अन्तरक्रिया गरी थुप्रै असल अभ्यासहरू संकलन गरेको छ, जो भविष्यमा प्रकाशित हुने नै छ । साभारः सौर्य दैनिक

x