धादिङमा स्व. डिल्लीरमण अर्यालको जन्मजयन्ति मनाईयाे

Avatar photo
Dhadingpost
चैत्र ९, २०७५

सञ्जय देवकोटा
धादिङ, चैत्र ९ । धादिङ जिल्लाका वरिष्ठ साहित्यकार स्वर्गीय डिल्लीरमण शर्मा अर्यालको ८८ औँ जन्मजयन्ती दिवस आज धादिङवेसीमा एक भव्य समारोहकाबीच समापन भएको छ ।

धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा समस्त अर्याल परिवारको सहआयोजनामा भएको कार्यक्रममा उहाँकी जीवनसङगीनी सीता अर्यालको सभापतित्व तथा वरिष्ठ साहित्यकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै वरिष्ठ साहित्यकार मोहनहरि सिग्देल, रामचन्द्र लम्साल, श्रीहरि फुयाल, बलदेव गाउले, नवीनबन्धु पहाडी लगायतको विशिष्ट आतिथ्यता रहेको समारोहमा नेपाल आइडलका कलाकार कृशल कडेलको पनि आतिथ्यता रहेको थियो ।

वि. सं. १९८८ साल चैत्र ८ गते आब्रिछाप, नलाङ धादिङमा जन्मिुनभएका साहित्यकार अर्यालका श्रीरङ्गस्तुति, वेदनिधि, थोपल, गङ्गाजमुना, धादिङमण्डल परिचय, नेपाल दर्शन, मेलम्चीको तिर्खा, जनआन्दोलन, गुरुदक्षिणा लगायत दर्जनौ काव्य कृति, निबन्ध, व्याकरण लगायतका थुपै्र लेख रचनाहरु प्रकाशित भएका छन् ।

धादिङ जिल्लामा जन्मिएर आफ्नो जीवनको अन्तिम समयसम्म पनि शिक्षा र साहित्यको विकासमा अनवरत रुपमा कलम चलाउने अर्याल धादिङ साहित्य समाजको संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।

स्मृतिमा गुरु डिल्लीरमण शर्मा अर्याल नामक समारोहमा धादिङ लगायत जिल्ला बाहिरका साहित्यकारहरुले अर्यालप्रति सम्मान प्रकट गर्दै आ आफ्नो रचना प्रस्तुत गरेका थिए ।

धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलले सञ्चालन गर्नुभएको समारोहमा अर्यालका छोरी कल्पना अधिकारी, नाति देखि पनातिसम्मले आफ्नो रचनामार्फत साहित्यकार अर्याललाई स्मरण गरेका थिए ।