
धादिङ माघ १४ । प्रदेश मन्त्रीको प्रमुख आतिथ्यतामा तामझामका साथ सुरुभएको धादिङको थाक्रे महादेवबेसी पर्यटन तथा औद्योगिक व्यापार मेलामा आयोजकले भने बमोजिमका कुनै आकर्षणहरु देखिँदैनन् ।
गत वर्ष आयोजना गरेको उज्यालो भविष्य महिला समुहले नै गत माघ ११ गते देखि सुरु गरेको मेलामा आयोजकले भनेको पर्यटन तथा औद्योगिक व्यापारलाई जोड दिएको देखिँदैन ।
पछिल्लो समय महोत्सव नामको ठगिको गतिलो उदाहरणको रुपमा दोस्रो महादेववेशी व्यापार मेलालाई लिन सकिन्छ । केही व्यक्तिको स्वार्थ पूर्तीका लागि मात्र आयोजना गरिएको यो मेलामा रमाईलो मेला र स्टेज कार्यक्रम बाहेक हेर्न लाएक केहि नभएको मेला अवलोकन गरेर फर्केका दर्शकहरुले धादिङपोष्टलाई बताए ।

पर्यटन, ब्यापार तथा औद्योगिक मेलाको नाम दिईएता पनि थाँक्रे गाउँपालिका कै पर्यटकिय स्थल रानी झरनाको प्रचारमा चुकेको आयोजक उज्यालो भविष्य महिला समुह थाँक्रे कै स्थानिय उत्पादनलाई मेलामा समावेश गराउन सकेको देखिँदैन ।
स्थानिय हस्तकला तथा स्थानिय उत्पादनको स्टल पनि कहिँ कतै देखिंदैन । चटपटे देखि वाल उद्यान सम्म सवै धादिङ बाहिर कै व्यवसायीले स्थान पाएका छन् । यसो हुँदा आयोजकको ध्यान स्थानिय बजारलाई प्रवद्र्धन गर्न भन्दा निरुत्साहन गर्न उद्धत भएको देखिन्छ ।
महोत्सवको नाममा दिन दाहडै जनता ठगिई रहँदा जिल्ला प्रशासन कार्यलय धादिङ र थाँक्रे गाउँपालिका टुलु टुलु के हेरेर बसेका छन् महादेवबेसीका एक स्थानियले बताए ।
