धादिङको कालुपाण्डे राजमार्ग र मलेखु खोला भूगर्भ ‘हब’

Avatar photo
Dhadingpost
माघ ५, २०७५

धादिङ माघ ५ । धादिङको मलेखु खोला आसपासको क्षेत्रमा देशभरका भूगर्भ शास्त्र अध्ययन गर्ने विद्यार्थीको ‘हब’ मा परिणत हुन थालेको छ ।

पृथ्वी राजमार्गस्थित मलेखु खोला, धादिङबेसी देखि मलेखु सम्मको कालुपाण्डे राजमार्गको भित्तामा रहेका चट्टानहरुलाई भूगर्भ शास्त्रका विद्यार्थीले अध्ययन गरिरहेको दिनहुँ जसो भेटिने गर्दछन् ।

हातमा हम्मर, नक्सा, फित्ता, रुलर, कम्पास लिएर चट्टान खोप्दै हिमालदेखि पहाडसम्म पाइने शताब्दी पुराना विभिन्न चट्टानहरू खोलावरपर पाइने भएपछि प्राध्यापक तथा विद्यार्थीहरूअध्ययनको लागी यस क्षेत्र आउन थालेका हुन् ।

भूगर्भ शास्त्रका विद्यार्थीलाई अनिवार्य आधारभूत सिकाइका क्रममा चट्टानहरूका प्रकार, उत्पत्तिलगायत विषयमा अनिवार्य प्रयोगात्मक कक्षा लिइन्छ, जुन कक्षा मलेखु खोलामा मात्रै पाइने भएपछि पत्रे, परावर्तित र आग्नेय चट्टानहरूबारे अध्ययन गराउन सहज हुने गरेको छ ।

काठमाडौंका बाहेक भूगर्भ शास्त्र पढाइने धरानको पूर्वाञ्चल विश्वविद्यालय, पोखराको पश्मिाञ्चल विश्वविद्यालय र चितवनबाट समेत वार्षिक हजारौं विद्यार्थी प्रयोगात्मक कक्षा लिन आउने गर्दछन् ।

‘मलेखु खोलाभन्दा झनै पुराना मलेखुदेखि सदरमुकाम जाने सडकको कालीखोला वरपर फेला परेका छन् । उक्त चट्टानहरू ५ अर्ब ६० करोड वर्ष पुराना रहेको अनुमान गरिएको छ,’ प्राध्यापक सुबोध ढकाल बताउँछन् ।

ढकालका अनुसार विद्यार्थीलाई अनिवार्य आधारभूत प्रयोगात्मक कक्षा लिएपछि एड्भान्स कक्षाका लागि तानसेन लिएर तिनाउ नदीवरपरका चट्टानमा थप प्रयोगात्मक कक्षा लिइन्छ ।

मलेखुमा भूगर्भ शास्त्र र इन्जियिरिङका स्नातक र स्नातकोत्तर तहका विद्यार्थी आउँछन् । तस्वीरः हरिहरसिंह राठौंर