धादिङ ढोलाकी नन्द छोराको उपचार खर्च जुटाउन भौंतारिंदै

Avatar photo
Dhadingpost
पुस २९, २०७५

हरि पन्त
धादिङ पुस २९ ।
आफ्नो बुढेसकालको सहारा छोरा जीवन र मृत्युको दोसाँधमा हुँदा कस्को मन पोल्दैन अनि पाक्दैन होला ? त्यहिमाथि चरम गरिबी र आफ्ना शारीरिक अवस्था बुढ्यौली र कमजोर । यस्तै बज्रपात आइलागेको छ, धादिङ ढोलाका १ परिवारलाई ।

नन्दका श्रीमान् लामो समयदेखि दमरोगी छन् । दमरोगी श्रीमानको स्याहार एवं जेला मजदूरी गर्दै परिवार चलाउँदै आएकी भट्टलाई यतिबेला अर्को बज्रपात आइलागेको छ । उनका २० वर्षीया छोरा कृष्ण भट्ट यतिबेला जीवन र मृत्युको दोष साँधमा छन् ।

आफूलाई छोराले लालन–पालन र स्याहार–सुसार गर्ने अवस्थामा उनै छोरालाई बोकेरै शौचालय पु¥याउने, खाना खुवाउने, सरसफाइ गरिदिनु परेको छ । उनको दैनिकी यत्तिमै सीमित छैन । छोराको उपचारका लागि खर्च जुटाउन भौतारिंदै हिंड्नुपरेको छ ।

२ महिनामा अघि यात्रा गरेर गाडीबाट झरेका कृष्ण केही छिनमा बाटोमै लडे । तत्काल उनलाई पोखराको मणिपाल पु¥याउँदा मुटुमा समस्या र दिमागको एउटा नशा सुकेको पाइयो । त्यही समस्याबाट कृष्णको शरीरको एकपाटो पुरै चल्दैन । उनी हिंडडुल गर्न समेत नसक्ने अवस्थामा छन् ।

करिब २ महिना मणिपालको बेडमा बसेर २ लाख बढी रुपैयाँ सकेका कृष्णको स्वास्थ्यमा खासै सुधार नआएपछि चिकित्सकले काठमाडौं लैजान सुझाव दिंदै अस्पतालबाट डिस्चार्ज गरिदियो ।

कृष्ण हाल पोखराकै बुद्धचोकको एक क्लिनिकमा थेरापी गराइरहेका छन् । काठमाडौं लैजान आर्थिक अवस्था बाधक बनेको छ । त्यही क्लिनिकबाट कोठासम्म आउजाउ गर्न ट्याक्सीमा दैनिक ४ सय रुपैयाँ लाग्छ । त्यही रकम पनि खर्च गर्न सक्ने अवस्था नरहेको कृष्णकी आमा नन्द बताउँछिन् । छोराको उपचार सम्भव हुने आशमा आमा नन्द भौंतारिरहेकी छन् ।

सहयोगको याचना गर्दै रुँदै सबैतिर डौडिएकी छन् तर सहयोगी हात भेटाउन सकेकी छैनन् । यो सम्मकि उनलाई कहाँ गएर कस्तो सहयोग पाइन्छ भन्ने जानकारी समेत छैन ।

यसैक्रममा उनी शनिबार धादिङ–पोखरा सम्पर्क समाजमा आइपुगिन् । समाजमा आएर उनले छोराको उपचारमा सहयोगको याचना गरिन् । सबैलाई रुवाउने गरी भक्कानिएकी उनले भनिन्, ‘मेरो छोरोलाई कि त मारिदिनुस्, कि त बचाइदिनुस् ।’ उनले थपिन्, ‘मणिपालमा २ लाख सकियो छोराको अवस्था उस्तै छ । अब मसंग १ पैसा छैन । बुद्धचोकमा थेरापी गराउँदै आएको छु, त्यहाँ जाने–आउने रकम समेत छैन ।’

काठमाडौंमा उपचार गरे छोराको अवस्था ठीक हुने उनले बताइन् । ‘काठमाडौंमा उपचार गराउन करिब ४ लाख रुपैयाँ लाग्छ रे’, रुँदै उनले भनिन्, ‘मैले यत्रो रकम कसरी जुटाउँ ? म के गरौं ? तपाइँहरू नै भन्नुस् ।’ हजुरहरुको सानो सहयोग मेरो छोराको लागी नयाँ जीवन बरदान बन्न सक्छ ।