
धादिङ पुस ४ । पहिलो नेपाल आइडल बुद्ध लामा भोली खनियाबास गाउँपालिकाको कुरी जानेक्रममा धादिङबेसी आईपुगेका छन् ।
खनियाबास कुरी कुरिको गोम्बोगङ मा विहिबार हुने ख्रीष्टमस उत्सब २०७५ कार्यक्रममा नेपाल आइडल बुद्ध लामा सहित बुगिवुगि फाइन लिस्ट सरोज मोक्तान म्हेन्दोमाया गायकहरुको बेजोड प्रस्तुती रहने दार्खाबाट सेकेमान तामाङले धादिङपोष्टलाई बताए ।
के हो ख्रीष्टमस पर्व ?
यसबारे गणेश तामाङ लेख्छन्-
रिक्ततामा येशूको जन्म र मरियमको उपासनाले भर्न थाले । यो दुःखमा नभएर फुर्सदमा जन्मेको चाड हो । डिसेम्बर २५मा येशूको जन्म भएको कथा त्यसै बेला रचियो र पाँचौं शताब्दीदेखि पन्ध्रौं शताब्दीसम्म चर्च इतिहासमा कालो युग छायो । एक हजार वर्षसम्म लम्बिएको कालो युगको अन्त जर्मनीको चर्च सुधारक मार्टिन लुथर (काला जातिहरूको नेता मार्टिन लुथर किङसँग नझुक्किनुहोला) ले चर्चमा ल्याएको सुधारबाट अन्त भयो । लुथरको पालादेखि बाइबलको अनुवाद र सही व्याख्या भए तापनि लगभग हजार वर्षसम्म ख्रीष्टमस र थुप्रै गैर–बाइबलीय धर्मविधिहरूले जरा गाडिसकेको थियो । ख्रीष्टमस यसैको उपज हो ।
नेपाली ख्रीष्टियानहरूको सङ्क्षिप्त इतिहास
नेपालको सन्दर्भमा भन्ने हो भने, अस्ताउन लागेको मल्लकालमा केही क्याथोलिक मिसनरीहरूले काठमाडौं उपत्यकाको बाटो भएर तिब्बत आउ–जाउ गरे र राजाहरूकै अनुरोधमा उनीहरूले सेवा पुर्याउने प्रयास गरेको देखिन्छ तर यताको संस्कारमा जम्नुअघि पृथ्वीनारायण शाहले चलाएको एकीकरणको अभियानविरोधी ठानेर तिनीहरू खेदिए र भएका थोरै नेवारी समुदायका ख्रीष्टियानहरू भारतको बेतियातिर धपाइए । लगभग दुई सय वर्षपछि, अर्थात् राजा त्रिभुवनको समयमा आधुनिक नेपाली ख्रीष्टियानहरूको इतिहास शुरू हुन्छ। सन् १९५० को दसकबाट गन्ती गर्दा आधुनिक नेपाली चर्चले लगभग ७० वर्ष पार गरिसकेको छ । ख्रीष्टियान इतिहासलाई राजनीतिक व्यवस्थाको परिवर्तनसँगै अध्ययन गर्ने हो भने वि.सं. २००७ सालदेखि २०४६ र सोपछिका बाँकी विकासक्रमलाई आधार बनाएर हेर्नुपर्दछ ।
२००७ सालदेखि २०४६को कालखण्ड ख्रीष्टियानहरूको लागि सुखद रहेन। राणा शासनकालमा ख्रीष्टियानहरूको उपस्थितिलाई पहिल्याउन सकिएको छैन तर राजा त्रिभुवनपछि सृजित सङ्क्रमनकालीन र पञ्चायती व्यवस्था लागू भएपछि ख्रीष्टियान धर्मलाई प्रतिबन्ध लगाइयो । स्वेच्छाले ख्रीष्टियान हुन पनि नपाइने र कोही स्वेच्छाले नै ख्रीष्टियान भएको रहेछ भने पनि जेलमा ६ महिनादेखि ६ वर्षसम्म थुन्ने मुलुकी ऐन २०२० ल्याइयो । कैद भुक्तानीपछि पनि सोही व्यक्ति पुनः हिन्दू नै हुनुपर्ने नियम लादियो । दमनबीच नेपालमा ख्रीष्टियानहरूको सङ्ख्या झन् वृद्धि हुँदै गयो । वि.सं २०४६ सालसम्मको नेपाली ख्रीष्टियान इतिहास प्रतिबन्धमा बित्यो र राजाको पूर्ण सक्रियतामा हाँकिएको पञ्चायत शासनकालमा ख्रीष्टियानविरुद्ध दमनबाहेक अन्य केही भएन । यस्तो बेला ख्रीष्टमसको औचित्यलाई जोड दिइएन र दिइए पनि चर्चभित्र मात्र सीमित थियो ।
वि.सं. २०४६मा प्रजातन्त्रको उदय भएपछि सरकारी स्तरबाट दमनको अन्त त भयो तर जनस्तरमा पञ्चायती कानूनको असरस्वरूप ख्रीष्टियानहरूलाई शड्ढास्पद नजरबाट अहिलेसम्म हेरिन्छ । बहुदलीय प्रजातान्त्रिक व्यवस्थादेखि लोकतन्त्र हुँदै गणतन्त्रसम्म देशले फड्को मारिसक्दा संविधानले धर्मनिरपेक्षको नीति अवलम्बन गर्यो तर धार्मिक अतिवादीहरूले राजनीतिक रूपमा कमजोर र विभाजित ख्रीष्टियानहरूमाथि नेपाललाई ईशाईकरण गर्ने षड्यन्त्र रचेको अर्थ लाए । मौजुद कुण्ठहरूबीच आफ्नो पहिचान बसाल्न गाह्रो भए पनि वि.सं. २०४७मा ख्रीष्टमस नेपाल चर्चेस फेलोशिप (हाल एनसीएफ नेपाल) को नेतृत्वमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरिएको थियो। मेरो अनुभवमा त्यो नै ख्रीष्टियानहरूको पहिलो सार्वजनिक ख्रीष्टमस हुनुपर्छ। पछिल्ला समयहरूमा ख्रीष्टियानहरूका विभिन्न खण्डित मञ्चहरूमा राष्ट्रप्रमुखहरूलाई निम्तो दिएर शुभकामना लिने र दिनेसम्मको अभ्यास वर्षेनी हुँदै आएको छ ।
