
धादिङ मंसिर १३। धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा मंसिर १४–२१ गते सम्म हुन लागेको धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला उद्घाटन प्रचण्डले गर्ने भएका छन् ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीका अनुसार मेलाको अन्तिम तयारी सकिएको छ । मेला उद्घाटन शुक्रबार दिउँसो पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गर्ने छन् ।
धादिङ उद्योग वाणिज्य संघ दक्षिण क्षेत्रिय समितिको आयोजनामा हुनलागेको उक्त मेला उद्घाटन गर्न प्रचण्ड आउने भए सँगै उद्घाटन सत्र भव्य सभ्य बनाउने तयारी गरिएको छ ।
दर्शकहरुलाई मेला स्थल सम्मको लागि लान ल्याउन धादिङबेसी सदरमुकाम, नौविसे, गजुरी लगायतका ठाउँहरुमा बस रिजर्भ गरिएको छ भने शान्ति सुरक्षाको पाटोलाई पनि आयोजकले चुस्त दुरुस्त बनाएको बताएको छ ।
मेलामा करिव १५० वटा स्टल रहनेछ । मेलामा धादिङ जिल्लाको पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार एवम् प्रवद्र्धनको लागि त्रिशुलीनदीमा ¥याफ्टिङ एवम् जिल्लाको पर्यटकिय क्षेत्रहरुको जानकारी गराईनेछ । साथै विभिन्न जनजातीहरुको भेषभुषा झल्कनेखालको सँस्कृति प्रदर्शनी हुनेछ । मेलामा विद्यार्थी, अपाङग, जेष्ठ नागरिकलाई अवलोकनको लागि सहुलियत दरमा टिकटको व्यवस्था गरिएको धादिङ उद्योग वाणिज्य संघ कार्यालयका रोहित भण्डारीले बताए ।
