धादिङको त्रिपुरासुन्दरी मेला मंसिर २३-२४ मा (जात्राको विशेषता सहित)

Avatar photo
Dhadingpost
मंसिर ९, २०७५

धादिङ मंसिर ९ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने त्रिपुरासुन्दरी मेला मंसिर २३ र २४ गते हुने भएको छ ।

धार्मिक, पर्यटन तथा साँस्कृतिक महत्व बोकेको यस त्रिपुरासुन्दरी मेला प्रत्येक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर मनाईने चलन अनुरुप यस वर्ष मंसिर २३ र २४ गते हुन लागेको हो ।

यस जात्रामा विगत केहि वर्ष देखि नियमित रुपमा हुँदै आएको साँस्कृतिक कार्यक्रम र फुटबल प्रतियोगिता यस बर्ष पनि हुन लागेको त्रिपुरा सुन्दरी युवा क्लवले जनाएको छ ।

धादिङबेसीबाट पैदल ४० किलोमिटरको दुरीमा रहेको यस त्रिपुरासुन्दरी मेला प्राङ्गणमा हुने फुटबल आठौं त्रिपुरासुन्दरी कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख रहेको आयोजक समितिका सदस्य युगल भण्डारीले धादिङपोष्टलाई बताए ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुराभगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको कथन छ ।

यो जात्रामा तपाई आउँदै हुनुहुन्छ भने, यो जात्राको विषयमा तपाई जानकार हुनै पर्छ । यो जात्रा तीन दिन सम्म चल्छ हजारौ भक्तजनहरु जात्रामा सहभागि हुन्छन् तर एउटै महत्वपूर्ण कुरो देविको प्रतिक मुर्ति कसैले पनि हेर्न पाउदैनन् । वर्षेनी ५० हजार भन्दा बढी भक्तजनहरु सहभागि हुने उक्त मेलामा देविको मुर्ति हेर्न नपाईनुको कारण जान्न तल पढ्दै जानु होला ।

जात्राको  जान्नै पर्ने विशेषता

१. धादिङको सल्यानकोटमा रहेकी त्रिपुरासुन्दरी भगवतीको उत्पतीको विभिन्न खालेको किंबदन्ती भेटिन्छ । श्रीस्वस्थानीमा उल्लेख भए अनुसार यज्ञकुण्डमा हामफालेकी सतिदेवीको मृत शरीर बोकेर भगवान शिवले पृथ्वीलोक भ्रमण गर्दा शतीदेवीको कण्ड्यौलो पतन भएको उल्लेख छ । नुवाकोट आक्रमणमा निस्केका राष्ट्र निर्माता पृथ्वीनारयाण शाहको नुवाकोट आक्रममा जाने क्रममा गोर्खाबाट आउँदा यही स्थानमा बास परेको र सपनामा एउटी बालिकाले हातमा खड्गसहित विजयी हुने बरदान दिएको कुरा पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ ।

२. सदरमुकाम धादिङबेंसीबाट ४० किमी उत्तरतर्फ पर्ने सल्यानकोटको हटीयाको मन्दिरबाटबाट आगिन्चोकको हाँसेमा भएको मन्दिरमा ल्याई देवि भित्र्याउने भित्राउने चलन रहि आएको छ । प्राचीनकालदेखि शाहवंशीय राजाले विशेष महत्वका साथ सो स्थानमा पूजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । त्रिपुरासुन्दरीको सल्यानकोट गाविस–५ मा रहेको २ वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ, जुन मामाघरको रूपमा प्रसिद्ध र आगिन्चोक स्थित सल्यानबेंसीमा गरेर तीन मन्दिर छन् ।

३. सल्यानकोट थुम्कोमा रहेको मन्दिरलाई दशैंघर भनिन्छ कतिपयले सो मन्दिरलाई भगवतीको मामाघरको रुपमा समेत हेर्ने गर्दछन् ।
अर्को मन्दिर सल्यानकोटको वडा नम्बर ५ कै पश्चिम थुम्कोमा । जुन मन्दिर भगवतीको मूल मन्दिर हो । यो मन्दिरमा वर्षको अधिकांश समय भगवतीलाई राखेर पुजा आराधाना गरिन्छ । आगिन्चोकको वडा नम्बर १ स्थित गणेशस्थान नजिकैको हाँसेपसल छेउमा रहेको मन्दिरलाई माइती घरका रुपमा चिन्निन्छ ।

४. भगवतीको मूर्ति रहेको विश्वास गरिएको बाकस पुजारीले पिँठ्युमा बोकेर करिब तीन घन्टाको पैदल दूरी पार गर्दै सल्यानबेंसीको मन्दिरमा ल्याउने गरिन्छ ।

५. भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टीकाको दिन हेर्ने र तिहारको भाइटीकाको दिन त्यसलाई सार्वजनिक गर्ने चलन छ ।

६. मन्दिर प्रवेश गर्ने बेलैमा रानामगर, सापकोटा र तिमल्सिनाले भगवतीको स्वरूपबारे कसैलाई जानकारी गराउँदिनँ भनेर कसम खाने पुरानो प्रचलन अहिले पनि छ। यी तीन थरबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुख्यढोकाबाटै भगवतीलाई पूजा–आजा गर्नुपर्ने नियम छ ।

७. मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोक स्थित बेसीको मन्दिरमा राखिन्छ, जुन भगवतीको माइतीको रूपमा प्रचलित छ । सल्यानकोट कै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिन्छ ।

८. धादिङ्गको त्रिपुरासुन्दरी भगवती हुन् जुन जसलाई वर्षमा ३ फरक फरक मन्दिरमा लगेर पुजा आजा गरिन्छ यस्तो नेपालको कुनै मिन्दर पनि छैन ।

९. भगवतीको लागि ४ सय २२ मुरी जमिन गुठीको रुपमा रहेको छ ।

१०. काठमाडौंबाट करिब १ सय ३० किलोमिटर पश्चिममा अवस्थित यो मन्दिर स्थानीय बासीन्दाको लागि निक्कै आस्था र विश्वासको केन्द्र बनेको छ ।

११. दुनियाँले हेर्न नहुने भनिएको मुर्तिका विषयमा सबैका चासो हुने नै भयो । यस विषयमा खोज गर्दै गर्दा स्थानिय शेरबहादु भण्डारीका अनुसार त्यो कसैले हर्नै नहुने भनिनु पहिलो त्यो देवि रहेको भन्ने वाकस भित्र बहुमसन्य गहना राखिएको थियो । एकान्तको मन्दिरमा चोरी हुने सम्भावनाले बाकस खोलिए सापको रुपमा देवि प्रकट हुनेर उक्त वाकस खोल्ने अधिकार पुजारीलाई समेत नभएको बतार्ईको हुन सक्ने ।

चोरी भैसक्यो हेर्न नमिल्ने देविको मुर्ति तर पनि आस्था घटेन

२०२६ साल भन्दा अगाडी नै उक्त देवि रहेको भनिएको वाकस जात्रा गर्दै मंसिरमा वेसी झारियो तर अफसोच जात्रा सकिएको केहि महिना पछि उक्त वाकस तोडफेड गरि मन्दिर भन्दा पछाडी सिमलको फेदमा फालिएको अवस्थामा पुजारीले देखे पछि गाउँका गन्य मान्यलाई बोलाएर पुन: उक्त वाकसमा देविका प्रतिक राखि मन्दिरमा लगिएको स्थानिय शेरबहादुर भण्डारीले हामीलाई बताए । तर हिजो जुनरुपले जात्रा संभालन हुन्थ्यो, आज केहि स्वरुप फेरिए पनि जात्रा अत्यन्त महत्वका साथ मनाईने गरिन्छ ।

देविको मुर्ति चोरीएको विषय बाहिर ल्याईएन दु:खद कुरा भएको बताउँदै भण्डारीले यदि मुर्ति कस्तो थियो पहिला हेरिएको भए त्यो मुर्ति कहाँ निबेच भएको छ हेर्न र खोज्न सजिलो हुन्थ्यो तर मुर्ति हेर्न नमिल्ने हुनाले मुर्ति कस्तो थियो, खोजी कार्यगर्न नसकिएको भण्डारीले बताए । तर यो जात्रा भव्य हुने गरेको प्रति भण्डारीले खुसी व्यक्त गरे । (फाइल फोटो)

x