एजेन्सी, मंसिर ९ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शन लज्जास्पद भएको बताएका छन् ।
पेरिसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शन उग्र बन्दै गएको छ । यहिक्रममा राजधानी पेरिसको च्याम्प्स् एलिसमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडपसमेत भएको छ ।
मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रनुपर्ने कुनै आवश्यकता नरहेको भन्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीलाई संयमता अपनाउन आग्रह गर्दै यस्तो बताएको अन्तराष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई रोक्न दर्जनौं सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्दा धेरै मानिस घाइते भएका छन् ।
प्रदर्शनकारीले राष्ट्रपतिको राजिनामाको माग गर्दै चर्को नारा लगाएका छन् । फ्रान्स सरकारले आगामी जनवरी १ देखि लागू हुने गरी डिजेलमा थप ६ दशमलव ५ सेन्ट र पेट्रोलमा २ दशमलव ९ सेन्ट कर वृद्धि गर्ने तयारी गरिरहेको छ ।
