एजेन्सी, मंसिर ६ । श्रीलंकाका विज्ञहरुले देशको उत्तरपश्चिमी शहर मनारमा अघिल्लो वर्ष आम चिहान फेला परेको बताएका छन् ।
पूर्व युद्ध क्षेत्र रहेको त्यस स्थलमा २३० भन्दा धेरै मानव कंकालहरु फेला परेका छन् ।
२००९ मा अन्त्य भएको श्रीलंकाको गृहयुद्धमा कम्तिमा बीस हजार मानिसहरु बेपत्ता भएको मानव अधिकारवादी संस्थाहरुले बताएका छन् ।
तामिल विद्रोही र श्रीलंकाका सरकारी फौजबीच चलेको २६ वर्ष लामो द्वन्दमा कम्तिमा एक लाख मानिसहरुले ज्यान गुमाएका थिए ।
अघिल्लो वर्ष नयाँ भवनको जग खन्ने क्रममा कामदारहरुले त्यहाँ ती कंकालहरु फेला पारेका थिए । कंकाल फेला परेपछि त्यहाँको अदालतले विस्तृत अनुसन्धानका लागि आदेश दिएको छ ।
सोमादेभाको अनुसार मानव कंकाल बाहेक पूरातत्वविदले त्यहाँ पोर्सालिन, सेरामिक र अन्य धातूका सामाग्रीहरु फेला पारेका छन् । साथै मृतकहरुको शरीरमा गहनाहरु पनि फेला परेका छन् ।
उक्त मनार शहरमा अल्पसंख्यक तामिल जातीको बाहूल्यता थियो र समूदायका नेताहरुले दशकौं लामो त्यस युद्धमा त्यहाँबाट सयौं मानिसहरु वेपत्ता भएको बताएका छन् ।
ती मृतकहरु को थिए र कसरी मारेका थिए भन्ने कुरा अझै स्पष्ट भएको छैन ।
एकजना फारेन्सिक पुरातत्वविद् प्राध्यापक राज सोमादेभाका अनुसार हालसम्म २३० भन्दा धेरै कंकालहरुको फेला परेका छन् । उनको अनुभवमा यो हालसम्म खोदाई गरिएको सबैभन्दा ठूलो आम चिहान हो ।
