एजेन्सी, मंसिर २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इतिहासकै सबैभन्दा भीषण भनिएको डढेलोले निम्त्याएको विनाशको आकलन गर्न क्यालिफोर्निया पुगेका छन् ।
क्याम्प फायर नामक डढेलोका कारण कम्तीमा ७१ जनाको ज्यान गइसकेको छ । एक हजारभन्दा बढी मानिस हराइरहेका छन् र अधिकारीहरूले त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन् ।
प्याराडाइज नगरमा बोल्दै राष्ट्रपति ट्रम्पले त्यस्तो दृश्य देख्न पाउँदा दुःख लागेको बताए। जङ्गलको कमजोर व्यवस्थापनका कारण यस्तो विपद् निम्तिएको भनी आफ्नो दावीलाई ट्रम्पले दोहोर्याए ।
क्याम्प फायर शुरू भएको आठौँ दिन पुगिसक्दा सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरहरूले फरेन्सिक टोलीलाई शव खोज्न सघाइरहेका छन् । क्याम्प फायर करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ । यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने बताएका छन् ।
विज्ञहरूले मौसम, जलवायु परिवर्तन लगायतलाई डढेलोको प्रमुख कारण ठहर्याएका छन्। प्याराडाइज नगरमा ट्रम्पले कानून कार्यान्वयन गराउने स्थानीय निकाय, राजनीतिज्ञ र खोजी कार्यमा संलग्नहरूको प्रशंसा गरे ।
प्याराडाइज नगरमा थप शवहरू भेटिएपछि डढेलोमा परी ज्यान गुमाउनेको सङ्ख्या शुक्रवार ७१ पुगेको छ । डढेलोबाट प्याराडाइज नगर लगभग ध्वस्त भएको छ र अधिकारीहरूले पूर्ण रूपमा पुनर्निर्माणको आवश्यकता रहेको बताएका छन् ।
