टोकियो ओलम्पिक छनोट, नेपाल र बंगलादेश भिड्दै

Avatar photo
Dhadingpost
कार्तिक २७, २०७५

एजेन्सी, कार्तिक २७ । टोकियो ओलम्पिक छनोट अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपाली महिला फुटबल टिमले मंगलबार चिर प्रतिद्वन्द्वी बंगलादेशसँग भिड्दैछ ।

खेल म्यानमारको स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । पहिलोपटक ओलम्पिक छनोट खेल्दै गरेको नेपाल जित हात पार्दे अर्को चरणमा पुग्ने लक्ष्यमा छ । अघिल्ल दुई खेलमा बराबरीमा चित्त बुझाएको नेपाललाई अर्को चरण प्रवेशका लागि स्पष्ट जित आवश्यक छ ।

नेपालले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतसँग एक–एक गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा आयोजक म्यानमारसँग समेत बराबरीमा चित्त बुझाएको थियो । दुवै खेलमा नेपालले सुरुवाती अग्रता लिए पनि जोगाउन भने सकेन । दुई बराबरीपछि नेपालको २ अंक नै छ ।

नेपालले बंगलादेशलाई फराकिलो गोलअन्तरका आधारमा हराएको खण्डमा भारत र म्यानमार बराबरी खेले नेपाल समूह विजेता बन्ने अर्को बाटोसमेत खुला छ । नेपाल र बंगलादेश यसअघि दुईपटक भिडेका छन् । जसमा दुई पटकनै नेपाल विजयी भएको छ ।

म्यानमार प्रतियोगितामा अपराजित रहँदै ४ अंक जोडेको छ भने भारतलको पनि समान ४ अंक छ । दुवै टोलीले नेपासँग बराबरी खेलेका थिए भने बंगलादेशलाई पराजित गरेका थिए । समूह सी अन्तर्गत मंगलबार हुने अन्तिम दुई खेल नेपालका लागि निकै महत्वपूर्ण छन् । भारत र म्यानमार समूह विजेता बन्दै दोस्रो चरणमा पुग्ने दाउमा हुनेछन् भने नेपाल र बंगलादेश दोस्रो हुँदै अर्को चरण पुग्ने लक्ष्यमा छन् । म्यानमार र भारत विरुद्धको खेल बेलुका ६ बजे हुनेछ ।