सम्झनामा: छापामार योद्धा प्रदुन

Avatar photo
Dhadingpost
कार्तिक १७, २०७५

सहिद कमरेड प्रदुन (अनिल अधिकारी) को गुल्मीमा शाही सेनाले हत्या गरेका थिए । साढें १६ वर्ष पुरा भएछ । ती दिनहरू मेरो मानास पटलमा जिवितै घुमिरहेको छ र ती दिनहरु कहिल्यै मेटिने पनि छैन ।

बैशाख ३० गते गिरफ्तार गरेर जेष्ठ १ गते हत्या गरेको खबरले आवेग र बिवेकको सिमा नै भएन, निक्कै स्तब्ध बनायो, सम्हालिन मुस्किल भयो, धेरै दिन सम्म आँखा रसार्इ रह्यो, उहाँ सँगको भावनात्मक निकटता, बिचार, दृष्टिकोणको एकरूपता आमिट छापले मेरो मन भक्कानियो, कायौं दिनसम्म रोएर, चिच्याउ जस्तो पनि लाग्थ्यो तर कुनै अर्थ देखिएन ।

युद्ध घातक र क्रूर भए पनि युद्धको नियम छ, युद्धमा पनि मानव अधिकार र मानवीयत हुन्छ । युद्धको नियम र मानवअधिकार सम्बन्धि जेनेभा महासन्धि पनि लत्याएर निशस्त्र अवस्थामा कब्जामा लिएर क्रूर पासबिक यातना दिएर तात्कालिन हत्यारा जल्लाद शाही सेनाले निर्मता पुर्वक क. प्रदुनको हत्या गर्यो । आबेगमा होईन विवेक पुर्वक हत्याको बदला लिने अठोटका साथ कमरेड अनिल अधिकारी (प्रदुनञ) प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो ।

कमरेड प्रदुन हामीबाट भौतिकरूपमा टाढा भए पनि बिचारात्मक र भावनत्मक रुपमा हाम्रो निकट्ता अनि उदेश्य सँगै छ । अझै पनि हामी माझ भएको जस्तो लग्छ, अझै पनि कुनै दिन फर्किन्छ कि भन्ने कल्पनामा हराइरहन्छु म । तारुका, दाङ्सिङ, गोर्स्याङ, धुवाँकोट, खाल्टे, धादिङबेसी तिर छापामार गतिविधि गर्दै हुनुहुन्छ जस्तो मेरो मनमा भान भएर घुमिरहन्छ ।

सामन्ती प्रतिक्रियावादी दलाल राज्यसत्ताको बिरुद्ध संघर्ष गर्दै जाली, फट्टाह, सुदखोर, भ्रष्टाचरीहरुको चिहान खन्दै गरेको आभास भैरहेको हुन्छ । अब कमरेड प्रदुनलाई भौतिक रुपमा जति कल्पना गरे पनि भेट्न सकिदैन तर उहाँको बिचार, भावना, आस्था, उदेश्य, जनाप्रेम, फौजी निर्देशन भने हामी सँग प्रशस्त छ, यी नै हाम्रो निम्ति प्रेरणाको स्रोत बनेको छ ।

हामीलाई उहाँले डोर्‍याएको बाटोमा अझै निरन्तर छौं र अभिष्ट लक्ष्य चुम्ने नै छौं । महान शाहीदको पंक्तिमा लामबद्ध कमरेड प्रदुनलाई रातो स्यालुट संधै टक्राइरहेने छौं । कमरेड प्रदुन अग्लो कदको ,तिखो हेराई, निक्कै फुर्तिलो, जाँगरिलो, मोठो बोलीबचन, असल शैली, छिट्टै घुलमिल हुने, तार्किक, स्पष्ट योद्धा हुनुहुन्थ्यो ।

कमरेड प्रदुन सँग मेरो भेट सायद ०५७ सालको पौष माघ महिना तिर हुनुपर्छ । धादिङ र नुवाकोटको सिमानामा पर्ने साल्मे लेकको जङ्गलम सहिद क. प्रबीण स्मृति आधारभुत सैन्य तालिमको क्रममा कमरेड प्रदुन सङ्ग पहिलो पटक भेट भएको थियो । केही दिनको फौजी तालिम सङ्गै गरियो । म भर्खर भर्खरै पुर्णकालिन भएको थिए र उहाँ अलि पुरानो । तालिमको क्रममा उहाँले निक्कै सहयोग गर्नुभयो । अत्यन्तै मिलनसार र सरलता कमरेड प्रदुनको बिशेषता थियो ।

कमरेड प्रदुन शारीरिक रूपमा निक्कै बलियो, अग्लो, पार्टीको बिचार, अनुशासन ,फौजी तालिम हरेक रूपमा अब्बल हुनुहुन्थ्यो । धादिङ, नुवाकोट र रसुवाको केही भूगोल मिलाएर बनाएको धादिङ जिल्ला पार्टीको ३ नम्बर इलाका अन्तर्गत हामी थियौ । जनासेनाको मुख्य, सहायक र अधारभुत गरि तीन सैन्य शक्तिको संरचना थिए । प्लाटुन मुख्य, स्क्वायट सहायक र जनामिलिसिया आधारभुत थियो ।

पूर्णकालिनहरुको तालिम पछि ३ नम्बर इलाकामा एक स्क्वायड र एक मिलिशियाको टिमबाट दुई टिम स्क्वायड र दुई टिम मिलिसिया बनाएका थिए । स्क्वयट कमण्डर सहिद दिपक बानियाँ (संगम) र रन्जिता (सन्तु माया तामाङ), मिलिशिया कमण्डर बिज्ञान (नबराज ढुंगाना) र प्रदुन थिए । म सहिद कमरेड प्रदुनको टिममा परे । मेरो पहिलो पटक टिममा प्रवेश र पहिलो कमण्डर प्रदुन थिए । हाम्रो कार्यक्षेत्र धादिङ र नुवाकोटको सिमाना वरिपरी थियो । प्रहरी शक्ति पराजितको अन्तिम अवस्थम थिए । धुवाँकोट र खाल्टेको सिमानामा पर्ने काहुले डाँडाको एम्बुस, समारी, दार्खा जस्ता चौकीहरुको सफल आक्रमणको कारण पुलिस हत्तपत्त आउन गह्रो थियो र हाम्रो आधारईलाका निर्माण हुँदै थिए ।

बेला बखत अप्रेसनहरु हुने गर्थ्यो । हामी खास खास इलाका बाहेक दिउँसो नै बढी मात्रामा गतिविधि गथ्र्यो । हिजो भर्खरै जस्तो लाग्छ ०५७ साल अन्तिम र ०५८ सालको सुरु तिर कमरेड प्रदुनको कमण्डमा हामी ६र ७ जना थियौं । सहायक कमण्डर सिम्लेको सुमित्रा गुरुङ (तारा) हुनु हुन्थ्यो ।

कमरेड ताराको रसुवा ठुलो गाउँ सामुहिक हत्याकण्डामा शहदत भयो ।हाम्रो टिम स्पिट, सहकार्य, भावनात्मक एकता, ब्यक्तिगत तथा सामुहिक विभिन्न कठिनार्इ सहज रूपमा सामना गरिन्थ्यो ।हाम्रो टिमको काम पार्टी र सेनाको सहायक रूपमा सहयोग गर्नु थियो । संगठन निर्माण, छापामार सभा, छापामार कार्वाही, बिसङगती, बिकृती नियन्त्रण लगायत थिए ।

हाम्रो टिम अवश्यक्तमा केन्द्रित र बिकेन्द्रीत भैइन्थ्यो । हाम्रो टिम एकदिन काहुलेबाट तारुकामा सहिद हुने कमरेड सगरको गाउँ चिसापानी हुँदै धादिङबेसी तर्फ मसाल जुलुसको लागि जाँदै गर्दा दंगा प्रहरी र हाम्रो जंकाभेट भयो तर प्रहरी र हाम्रो अलग अलग बाटो हुँदा करिब १०० मिटरको दुरिमा हेरा हेरा मात्रै भयो । हामी सङ्ग केही गृनेट, भरुवा बन्दुक र खुकुरी मात्रै थियो । २५–३० जना पुलिसहरु थियो उनीहरु सबै सशस्त्र थिए तर उनिहरुले हामी माथि आक्रमण गर्ने आँट भने गरेनन् ।

मेरो पुलिस सङ्ग पहिलो जंकाभेट थियो, कमण्डर कमरेड प्रदुनले नाअत्तिनु भन्दै हुनुहुन्थ्यो । पुलिस सङग जम्काभेट भए पछि हामीले त्यो दिन मसाल जुलुस गरेनौं, भोलिपल्ट मात्रै ५ थान भरुवा बन्दुकको फयरिङबाट मसाल जुलुस गरियो । कमरेड प्रदुनको नेतृत्वमा र सहकार्यमा गरिएको छापामार क्रियाकलाप अझै दिमागमा ताजा भएर गुन्जिरहेको छ । जुवा, तास र जाँडरक्सी जस्ता बिकृती हाम्रो नियन्त्रण संघर्षको एजेन्डा थियो । एक दिन कमरेड प्रदुन र म तरुकाघाटमा झण्डा र ब्यानर राखेर आउँदै गर्दा राती ९–१० बजे तिर तारुका जोरचौतारमा १०–१२ जना जति मानिसहरु जाँड खाएर हल्ला गर्दै तास खेल्दै गरेका रहेछन् ।

तारुका चंन्दनी चौकी नजिकै भएकोले मेरो हातमा ग्रीनेट र कमरेड प्रदुन सङ्ग बह्रबोरको गोलि लाग्ने पिस्तोल हातैमा थियो । ति तास खेलिरहेको मानिसहरुलाई कमरेड प्रदुनले काशन गर्नु भयो, तपाईहरु कोही भग्ने र हल्ला नगर्नु हामी माओवादी छापामार हौ, हाम्रो घेराभित्र तपाई हरु हुनुहुन्छ ?

एक्कासि एकजनाले कमरेड प्रदुन माथी खुर्पा प्रहर गरे,

तर हामीलाई लागेन र खुर्पा सङ्गै उसलाई नियन्त्रणमा लियौ ।नियन्त्रणमा लिएको वयक्ति प्रदुन सङ्ग परिचित मान्छे रहेछ ।हामीलाई गुण्डाहरु होल भनी प्रतिकार गरेको बताए, उस्ले गल्ती स्वाकरेर माफी मागे । तास च्यात्न लगायो । केही नगद पनि हामीले कब्जा गरेर पार्टीमा बुझाउन सफल भयौं । कमरेड प्रदुन सङ्गको सहकार्यको अबिस्मरणिय क्षणहरु कयौं छ्न् ।कतिपय ठाउँहरुमा दिनभरी सुतेर रातभरि छापामार काम कार्वाही गरेको, तारुकामा मसाल जूलूस गरेर ढुसिनिको गणेश गुरुङको घर तिर सेल्टर लिएको, धुवाँकोटको जनता सङ्गको सहकार्य, बेसाहरा पीडित महिलालाई न्याय दिलाएको, जाँड, रक्सी, जुवातास नियन्त्रण गरेको थुप्रै घटनाहरु छ्न् । नुवाकोटको तारुका र धादिङको खाल्टेको सिमाना टारीखेतमाद उहाँको घर थियोे ।

हाम्रो कार्यक्षेत्र त्यतै भएकोले बेलाबखत हाम्रो टिम पुगिरहन्थ्यो । उहाँको बुवा आमाले सबैलाई उत्तिकै माया गर्नु हुन्थ्यो । दाइ शंकर अधिकारी शिक्षण पेशा र संगठनमा आवद्ध हुनुहुन्थ्यो ।

एकदिन हामी कुपको वनमा दिनभरी गित गाउँन र नाच्ने प्राक्टीस गर्यौं, प्रदुन र मेरो गित गाउन स्वार नमिल्दा नाच्नु पर्ने भयो तर कहिल्यै न नचिएका हामी दुईले कम्मारमा खुकुरी भिरेर आइपुग्यो छापामार बोलको गितमा नाँचियो । रातपरेपछि टक्सरको स्कुलमा गाउँले सबैलाई बोलाएर छापामार कार्यक्रम गरियो ।

सुरुमा कमरेड प्रदुनले हाम्रो पार्टीको लक्ष्य, उदेश्य सामन्ती प्रतिक्रियावादी सत्तालाई जरैदेखि फलेर नयाँ जनाबादी राज्यको स्थापना गर्ने, स्थानीय दलाल, भ्रष्टाचारी, बेइमानीहरु होशियार भनेर भाषण गर्नु भयो । त्यसपछि कमरेड तारा, मुना र प्रेमले गित गाउनु भयो प्रदुन र म नाचेयौं ।कार्यक्रम सकिए पछि नारा घन्काउदै सेमजोङ तिर लागियो ।

भर्खर भर्खरै माओवादी पार्टी खुल्ला रूपमा पुगेको टक्सारमा केही दिन पछि फेरि हामी पुग्दा अस्ति आएको टोलीले राम्रो गित गाउने रहेछ र खतरा नाँच्दोरहेछ भनेर हाम्रै अगाडि गाउँलेहरुले सुनाए । अध्यारोम हामी दुइपनि राम्रै नाच्ने रहेछौ भन्दै हाँसो गर्दै निक्कै रमाइलो अनुभुती गरियो । यस्तै कयौं अबिस्मरणिय सहकार्यको क्षणहरु अझै ताज छन् ।

त्यत्ति बेलाको स्थानीय पार्टी सदस्यहरु कहुलेको प्रेम सर, खोलेबेसीको जनक सर, काफल पानीको भाउजू, पात्लेको बिमला दिदी, कल्लेरीको पोषकनाथ, बसाहाको रामचन्द्र, हरिचन्द्र दाइ लगायत हाम्रो थुप्रै सहयोगीहरु थिए । शारीरिक रूपमा दुबै हातको औंलाहरु नभएर पनि निजि जिवनको संघर्षमात्र नभएर आमूल परिवर्तनको कष्टकरपुर्ण संघर्षम पनि एकाकार गर्नु हुने शिक्षाक जनक सर संग कमरेड प्रदुनले परिचय गराइदिनु भएको थियोे ।

भेटघाट र छ्लफल पछि हामी फेरि आफ्नो यात्राम लागेयौं । जनक सरको जिबन, व्यबहार र सघर्ष हामीहरु जस्तो छापामारहरुको निम्ति निक्कै प्रेरणादायी थियोे । हाम्रो नियमित छापामार काम कार्वाही अनुसार चिन्नेखर्कमा बिद्यार्थीको जिल्ला सम्मेलनमा सहभागी हुँदै गर्दा राजदरबार हत्याकाण्ड भयो । हामी फेरि दाङ्सिङमा खुला आमसभामा सहभागी भयौं । हामी तारुका चौकी आक्रमणको तयारी देखि आक्रमणको दिन सम्म कमरेड प्रदुन सङ्ग सङ्गै थियौं ।

तारुकाको सफल रेड पछि पुलिस सङ्गको अन्तिम बिजय अभियानमा विभिन्न प्रहरी चौकीहरु खाली गराउँदै तादी चौकी, खरानीटार र ढिकुरेको कृषि बिकास बैंक माथिको एकै समयमा भएको सफल कार्वाहीमा कमरेड प्रदुनको भुमिका रहेको थियो । युद्ध बिराम र बार्ता पाछी हाम्रो कार्यक्षेत्र अलग अलग भयो । बेला बेलामा हाम्रो भेट हुन्थ्यो, अन्तरमनक कुराहरू हुन्थ्यो ।

संकटकाल पछि सैनिक दमन र नेता तथा कमाण्डरहरुको गिरफ्तार र गद्दारले मध्येक्षेत्र तहस नहस नै बनाए, कयौ कार्यकर्ताहरुले बलिदान गरे, कयौ हतियार गुमाए तर हामी निरंकुश सामन्ती, सत्ताको निर्मम दमनको विरुद्ध कडा प्रतिकार गर्दै थियौ । ०५९ सालको नयाँ बर्षको सुरुवातमा गोरखाको बार्पाक ईलाका प्रहरी कार्यालय सफल आक्रमणबाट छुटेका हामी कहिल्यै नभेटिने गरि अन्तिम भेट भैदियो । कामको शिलशिलामा जाँदै गर्दा बैशाख ३० गते गुल्मीको धवाङबाट तात्कालिन शाही सेनाको गिरफ्तारमा पर्नु भयो ।

निसशस्त्र अवस्था पक्राउ गरेर मानव अधिकार र जेनेभा महसन्धीको युद्ध बन्दीको नियमलाई धब्जी उडाएदैं निरंकुश अतातयी शाही सेनाले आफ्नो असली चरीत्र प्रदर्शन गर्यो । चरम यातना दिएर आत्म समर्पण गर्न र पार्टीको गोपनियता खोल्न भने पनि उहाँले मान्नु भएन छ । बरु सहिद बन्न तयार हुनुभयो ।

अन्ततः एक अथक महान वीर सुपुत्र योद्धा भौतिक रूपमा सदाको लागि हामीबाट चुडायो । वीर महान योद्धा कमरेड प्रदुन आम श्रमजीवी बर्गको सदा आस्थाको धरोहर बनेर चम्किरहनु भएको छ । बाँकी अभिभारा एकदिन हामी पूरा गर्नेछौं । कमरेड प्रदुन सदा सदा अमर रहुन्, अमर रहुन्, अमर रहुन् ।

जितेन्द्र तामाङ
हाल: दक्षिण कोरिया