धादिङ समाज काेरियाले एम्बुलेन्स दिँदै

Avatar photo
Dhadingpost
कार्तिक १५, २०७५

संजय देवकोटा
धादिङ कार्तिक १५ । धादिङ जिल्लाबाट कोरियामा गई रोजगार गर्ने धादिङेहरुको सङगठन धादिङ समाज कोरियाले गंगा जमुना गाउँ पालिका वडा नं.३ लाई एम्बुलेन्स दिने भएको छ ।

धादिङ जिल्लाको उत्तरी क्षेत्र लगायत जिल्लाभरी नै सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालन गर्नको लागि धादिङ समाज कोरियाका बरिष्ठ उपाध्यक्ष वषन्त सिंखडाको उपस्थितिमा गङ्गा जमुना गाउँ पालिका वडा नं. ४ का वडा अध्यक्ष हरिमान श्रेष्ठको अध्यक्षतामा सर्वपक्षिय उपस्थित सहितको भेला समेत सम्पन्न भएको छ ।

गङ्गा जमुना गाउँ पालिकालाई विशेष केन्द्र बनाएर एम्बुलेन्स सञ्चालनका लागि वडा अध्यक्ष हरिमान श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा राम बहादुर तामाङ, सचिव रामेश्वर सिंखडा, कोषाध्यक्ष राज कुमार गुरुङ, सह सचिव ध्रुव सिंखडा र सह कोषाध्यक्ष प्रेम बहादुर घले रहनु भएको छ ।

यस्तै गाउँ पालिका अध्यक्ष बल बहादुर अधिकारीको संरक्षकत्वमा उपाध्यक्ष एन्जिला तामाङ, धादिङ समाज कोरियाका वरिष्ठ उपाध्यक्ष वसन्त सिंखडा सहित ३ सदस्यीय संरक्षण समिति समेत गठन गरिएको छ ।

यसैगरी गङ्गा जमुना गाउँ पालिकाका सबै वडाका वडा अध्यक्षहरु रहने गरी ९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको हो । एम्बुलेन्स खरिदका लागि धादिङ समाज कोरियाबाट अहिलेसम्म रु.१४ लाख नगद जम्मा गरिसकिएको छ ।

१ महिना भित्रमा हस्तान्तरण गरिने एम्बुलेन्स गुम्दी स्वास्थ्य चौकीको निरिक्षणमा रहने गुम्दीबाट रामेश्वर सिंखडाले जानकारी दिए ।